बिहानको पहिलो घामसँगै उठ्छन् बुबा,
आकाश खुल्नु अघि नै जिम्मेवारी बोकेर,
बेलुकी अबेरसम्म पसिना बगाउँछन्,
आफ्नो सपना होइन—हामीलाई उचाल्न।
मन परेको कहिल्यै नखान पाउँछन्,
नलाउन पाउँछन् रहरका लुगा,
न त डुल्न पाउँछन् संसार हेर्न,
तर हाम्रो संसार बनाउन व्यस्त हुन्छन् सधैं।
अनुहार च्याउरीएको, समयको लेखाजोखा जस्तो,
कुप्रो जीउ—परिश्रमको इतिहास बोकेको,
तर मनभित्र अटुट उज्यालो,
सन्तानको सफलताको सपना बोक्ने।
आफ्ना चाहनाहरू थन्काएर कुनामा,
हाम्रा चाहनालाई पखेटा लगाइदिन्छन्,
आँखा थाकेका हुन्छन्, तर आशा ज्यूँदै,
हाम्रो हाँसोमै आफ्नो खुसी देख्छन्।
कति पीडा लुकाएका हुन्छन् हाँसोभित्र,
कति रात निदाउन नपाएर बिताएका,
तर कहिल्यै गुनासो गर्दैनन्,
किनकि उनीहरूको संसार हामी हौं।
ए बुबा,
तपाईंको पसिनाको प्रत्येक थोपा,
हाम्रो भविष्यको उज्यालो हो,
हामी कहिल्यै बुझ्न नसक्ने गहिरो माया हो।
एकदिन समयले थाम्न नसक्ने बनायो भने पनि,
तपाईंको माया कहिल्यै ओइलाउने छैन,
किनकि तपाईंको संघर्षले नै
हाम्रो जीवनलाई अर्थ दिएको छ।
देबेन्द्र दत्त भट्ट,बैतडी
हाल – सुजङ्ग स्कुल , राजपुर डोटी