कमलपुर माविको ५७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

बैतडी-बैतडीका मेलौली नगरपालिका–८ कोटिगाउँ स्थित कमलपुर माध्यमिक विद्यालयको ५७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ।

शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामसिंह विष्टको अध्यक्षतामा सम्पन्न भएको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा मा मेलौली नगरपालिकाकी उपप्रमुख पार्वती बोहरा विष्ट प्रमुख अतिथि रहेका थिए ।यस्तै कार्यक्रममा वडा.न. ८ का वडा अध्यक्ष तपेन्द्र सिंह विष्ट, वडा सदस्य शंकर विष्ट र भागरथी लुहार लगायत विशिष्ट अतिथि रहेका थिए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मन्धीराम लुहारले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँले विद्यालयले पछिल्लो समय हासिल गरेका शैक्षिक तथा भौतिक उपलब्धि, विद्यार्थीको सिकाइ अवस्था, विद्यालयमा सञ्चालन गरिएका विभिन्न कार्यक्रम तथा आगामी शैक्षिक योजनाका बारेमा जानकारी गराउनुभएको थियो।

प्रधानाध्यापक लुहारले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरकारबीच निरन्तर सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभएको थियो। उहाँले विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि गर्न विद्यालयले विभिन्न गतिविधिलाई प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गर्नुभएको थियो।

वार्षिकोत्सवका अवसरमा विद्यालयको समग्र शैक्षिक अवस्था, विद्यार्थीको नियमितता तथा सिकाइ उपलब्धि, शिक्षक–अभिभावकको भूमिका र विद्यालयको आगामी योजनाका विषयमा समेत छलफल गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर उपप्रमुख पार्वती बोहरा विष्टले विद्यालयको शैक्षिक विकासका लागि स्थानीय सरकार, विद्यालय परिवार र अभिभावकबीच सहकार्य आवश्यक रहेको बताउनुभएको थियो। उहाँले गुणस्तरीय शिक्षाका लागि विद्यालयको भौतिक पूर्वाधारसँगै विद्यार्थीको सिकाइ वातावरणमा समेत ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो।

यस्तै, कार्यक्रममा सहभागी अन्य अतिथि तथा सरोकारवालाहरूले विद्यालयको शैक्षिक प्रगति, विद्यार्थीको प्रतिभा विकास र गुणस्तरीय शिक्षाका लागि सबै पक्षको सहयोग आवश्यक रहेको धारणा राखेका थिए।

वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति समेत प्रस्तुत गरेका थिए। कार्यक्रमले विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटनसँगै विद्यालय र अभिभावकबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुगेको विद्यालयले जनाएको छ।

कार्यक्रममा , शिक्षक, विद्यार्थी, अभिभावक, बुद्धिजीवी, समाजसेवी, शिक्षाप्रेमी तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

विद्यालयले आफ्नो ५७ औँ वार्षिकोत्सव मनाउँदै आगामी दिनमा शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको सर्वाङ्गीण विकास तथा विद्यालयको समग्र प्रगतिका लागि थप योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

Leave A Reply

Your email address will not be published.