बैतडी-बैतडीको शिवनाथ गाउँपालिका–३ नं. वडा कार्यालयले माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ।
वडा कार्यालयले गाउँपालिकाअन्तर्गतका सम्बन्धित माध्यमिक विद्यालयहरूलाई प्रतियोगितामा सहभागी हुन अनुरोध गरेको वडा अध्यक्ष केशव दत्त कलौनीले जानकारी दिए ।
वडा कार्यालयका अनुसार प्रतियोगिता कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी आयोजना गर्न लागिएको हो। विद्यार्थीहरूको ज्ञान, क्षमता, सिर्जनशीलता तथा प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको वडा अध्यक्ष कलौनीले बताए ।
प्रतियोगिता २०८३ साल असोज ९ गते बिहान १० बजे सञ्चालन हुने जनाइएको छ। प्रतियोगिता श्रीपुर माध्यमिक विद्यालय, पुडिल बझलामा आयोजना हुने वडा कार्यालयले जनाएको छ।
प्रतियोगितामा सहभागी हुने सम्बन्धित विद्यालयहरूलाई निर्धारित मिति, समय र स्थानमा उपस्थित हुन वडा कार्यालयले अनुरोध गरेको छ। प्रतियोगितासम्बन्धी थप जानकारी तथा आवश्यक समन्वयका लागि वडा कार्यालयमा सम्पर्क गर्न सकिने जनाइएको छ।
