बैतडी-बाल दिवसको अवसरमा बैतडीको पञ्चेश्वर गाउँपालिका–४, आम्चौरा स्थित ‘हाम्रो समाज हाम्रो एकता ग्रुप परिवार’ले दुई जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोसाक वितरण गरेको छ।
ग्रुपले रायपुर आधारभूत विद्यालयमा अध्ययनरत रणबीर टमटा र विपना टमटालाई कापी, कलम, ज्यामिति बक्स तथा विद्यालय पोसाक (ड्रेस) वितरण गरेको संयोजक नरेन्द्र चन्द, डङ्खेतले जानकारि दिए ।
आर्थिक अवस्था कमजोर भएका तथा गरिब र जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले प्रवासमा रहेका युवाहरूको पहलमा उक्त कार्यक्रम सञ्चालन गरिएको चन्दले बताए ।
विद्यालयका प्रधानाध्यापक भरत चन्दको उपस्थितिमा विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री तथा पोसाक हस्तान्तरण गरिएको हो।
‘हाम्रो समाज हाम्रो एकता ग्रुप परिवार’ले हाल यो अभियान पञ्चेश्वर गाउँपालिका–४ बाट सुरु गरेको जनाएको छ।
आगामी दिनमा कार्यक्रमलाई विस्तार गर्दै पालिका स्तरसम्म पुर्याउने लक्ष्य रहेको ग्रुपले जनाएको छ।
बालबालिकाको शिक्षामा सहयोग पुर्याउने तथा आर्थिक अभावका कारण अध्ययनमा समस्या भोगिरहेका विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको यस पहललाई स्थानीयस्तरमा सकारात्मक सामाजिक कार्यका रूपमा हेरिएको छ।