बैतडी- बैतडीको मध्यपहाडी क्षेत्रमा पछिल्लो समयमा कोदो, मादुरोजस्ता पुराना बाली लोप हुन थालेका छन ।कोदो, मादुरोजस्ता बालीमा प्रशस्त मात्रामा पोषक तत्व पाइने भए पनि बालीको महत्व नबुझ्दा लोप हुन थालेका हुन ।प्रशस्त मात्रामा कोदो फल्ने जमीनमा अहिले अन्य खाद्यान्न बाली लगाइएको छ ।
केही वर्षअघि सम्म पनि सुदुरपश्चिमका पहाडी जिल्ला बैतडी, डडेल्धुरा,दार्चुला, डोटी, बझाङ र बाजुरा लगायतका उच्चपहाडी तथा हिमाली भेगमा प्रशस्त मात्रामा कोदो र मादुरोको खेती गरिन्थ्यो।
कोदोलाई औषधिका रूपमा समेत प्रयोग गरिनुका साथै पोषिलो तत्वका रूपमा समेत लिइन्छ। मादुरो, कोदो र जौँ लगायतका अन्नबाट बन्ने अधिकांश परिकारहरु घिउ, मोही र दुग्धजन्य पदार्थको मिश्रणबाट बन्ने भएकाले पनि भैंसीपालन घटेसँगै यो खेती पनि लोप भएको जानकारको भनाइ छ ।
केही बर्षअघिसम्म बैतडीको ग्रामीण क्षेत्र विशेषगरी पाटन, शिवनाथ, पञ्चेश्वर, मेलौली, सिगास लगायतका ठाउँमा अधिकांश कृषकले कोदो खेती गर्दथें। तर अहिले यसको खेती पूरै विस्थापित हुने अवस्थामा पुगेको कृषकहरू बताउँछन । कोदोको उत्पादन राम्रो भएपनि कृषकले हिजोआज खेती गर्न छाडेपछि विस्तारै गाउँघरमा कोदो खेती कम हँुदै गएको छ। कृषकले कोदो खेती गर्न छाडेपछि अहिले केही स्थानमा बीउसम्म पाउन मुस्किल हुन थालेको कृषक बताउँछन ।केहीले फाट्टफुट्ट कोदो खेती गरेपनि घरायसी प्रायोजनका लागि मात्र गरेको पाइन्छ। अन्य बालीभन्दा कोदोबाली स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।
रोटी र ढिँडोका लागि मात्र उत्तम ठानिने भए पनि अहिले स्वस्थ रहनका लागि भन्दै शहरी क्षेत्रका मानिसले यसका परिकार खाने गर्दछन। तर कोदो खेती गर्ने किसानको सङ्ख्या दिनहुँ घट्दै गएको कृषकको भनाइ छ। समयसँगै कृषिगर्ने तरिका परिवर्तन भयो।खेती गरिने बालीनाली पनि परविर्तन हुँदै गएका छन्। कोदो, मादुरो, जौँ खेतीबाट धान र मकै बालीबाट जस्तो आर्थिक लाभ नहुनाले पनि यी बाली लोप हुँदै गएको किसानहरू बताउँछन ।
आयतित खाद्यान्नका सामग्रीमा पोषक तत्व नपाइने भएकाले बालबालकिा, गर्भवती, सुत्केरी महिलाका लागी कोदो निकै फाइदाजनक रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले जानकारी दिए। कोदो, मादुरो, भटमास लगायतका बालीमा प्रशस्त मात्रामा पोषक तत्व पाइने भएपनि यसको महत्वका बारेमा जानकारी नभएको उनले बताए।
पहिले मुख्य खाना नै कोदाको रोटी, ढिँडो हुन्थ्यो तर अहिले मुख्य खाना भातरोटी भएकाले कोदो खेती विस्थापित भएको छ”, मेलौली नगरपालिका–१ कृषक गगां सिंह नायकले भने, “अहिले कोदोको रोटी, ढिँडोभन्दा भात नै खाने चलन बढ्नै जाँदा यसको खेती विस्थापित हुन पुगेको छ। मेलौली ६ का कृषक चिन्तामणी भटटले गाउँघरमा हेपिएको खाद्यान्न अहिले शहर बजारतिर खोजी खोजी खान थालिएको बताउछन । पहिला पहिला खेतमा लटरम्म फल्ने कोदो अहिले औषधिका लागि समेत भेट्टाउन मुस्किल भएको छ”, उनले भने, अहिले शहरी क्षेत्रमा यसको अत्याधिक माग भए पनि उत्पादन घट्दै गएको छ।”
औषधिका रूपमा समेत प्रयोग हुने कोदोलाई पोषिलो अन्न मानिन्छ। पहिला वर्षे खेतीका रूपमा लगाइने कोदो अहिले देख्नै मुस्किल पर्न थालेको छ ।स्वास्थ्यका लागि लाभदायक अन्न फलाउन छाडेर बजारमा पाइने प्याकेटका तयारी खाना खान थालेपछि एकातिर स्थानीय अन्न लोप हुँदै छन् भने अर्कोतिर मानिसमा अनेक किसिमका रोगको सङ्क्रमण बढ्न थालेको जेटिए सुरेन्दरु नेगीले बताए।
कोदोको महत्व
कोदोमा अन्य धेरै विषेशता होलान् तर मानिसहरू यो खाना दुःखी र गरिबले खाने भन्ने भनाइ छ।त्यसैले यसलाई उपभोग गर्नेलाई अपमानित गरिन्छ। उच्च खानदानीमा पाहुनालाई कोदोको परिकार दिइँदैन्थ्यो र अझै पनि दिइँदैन।
परम्परागत रुपमै कोदोको ढिँडो, रोटी, पुवा र खोले बनाएर खाने चलन छ । शहर बजारमा कोदोको सुप बनाएर खाने गरिन्छ। कोदोको महत्वका बारेमा थाहा नहुँदा कोदो खेती गर्ने चलन हराएको हो।
कोदो स्वास्थ्यका लागि फाईदाजनक
उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि कोदो उत्तम मानिन्छ।’ कोदोमा ट्रिस्टोफेन नामक एमिनो एसिडले गर्दा यसको पाचनप्रणाली ढिलो हुनेहुँदा लामो समय नखाँदा पनि हुन्छ।
यसबाट हाम्रो शरीरको तौल यथावत राख्न मद्दत गर्छ। कोदो खानाले यसमा भएको क्याल्सियमले गर्दा वृद्ध र बालकलाई चाहिने प्रकृतिक क्याल्सियमले गर्दा हाड मजबूत बन्न मद्दत पुग्छ। कोदोलाई क्याल्सियम, फलाम, प्रोटिन रेशाको धनीको रूपमा लिइन्छ। यसले बोसोको मात्रा कम गराउँछ ।
मुटु, कलेजो र उच्च रक्तचाप भएका मानिसको लागि यो राम्रो खानाको रूपमा लिइन्छ ।कम सिँचाइ, मल, मेहनतको प्रयोगले उत्पादन बढी लिन सकिने भए पनि कोदो खेतीको संरक्षण र जगेर्ना गर्नेतर्फ अब सम्बन्धित निकायले पहल गर्नुपर्ने देखिन्छ।