बैतडी-भारतको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले परियोजनाको बाँध भोली १३ गते बिहान ६ बजेदेखि साउन १४ गते अर्थात बिहिबार अपराहन्न ६ बजे सम्म खोलिने जनाएको छ ।
बाँध खोलेको समय र त्यसपछिका केही घण्टा महाकाली नदीमा जलस्तर बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको बैतडी प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराइले बताए । धौलीगंगा पावरस्टेशनमा सिल्ट सरसफाइका लागि बाँध खोल्ने तयारी भएको बताइएको छ ।
बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न आग्रह गरिएको हो ।