बैतडी: पञ्चेश्वर गाउँपालिका–४ मा सामाजिक उत्तरदायित्व र आपसी सहकार्यलाई प्राथमिकता दिँदै नयाँ सामाजिक अभियान सुरु गरिएको छ। प्रवासमा रहेका युवाहरूको पहलमा स्थापना गरिएको उक्त अभियानले गरिब, दलित, एकल महिला, बेसहारा ज्येष्ठ नागरिक तथा आर्थिक रूपमा विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्य लिएको छ।
अभियानको औपचारिक सुरुवातअघि करिब एक सातासम्म आन्तरिक छलफल तथा दुई दिनसम्म सहमति–विमतिका विषयमा विस्तृत समीक्षा गरी सर्वसम्मत रूपमा अभियानलाई अगाडि बढाउने निर्णय गरिएको संयाेजक नरेन्द्र चन्दले जानकारी दिनुभयो। अभियानलाई सफल बनाउन सुझाव, सल्लाह र सहकार्य गर्ने सबैप्रति चन्दले धन्यवाद तथा आभार व्यक्त गरेका छन्।
अभियानमार्फत गाउँ–समाजमा देखिएका विभिन्न सामाजिक तथा आर्थिक समस्याको समाधानमा सहयोग गर्ने, दुर्घटना, प्राकृतिक विपद् तथा जटिल रोगबाट प्रभावित व्यक्तिहरूलाई आवश्यकताअनुसार राहत तथा उपचार सहयोग उपलब्ध गराउने लक्ष्य राखिएको छ। साथै समाजमा एकता, सद्भाव र सहयोगको भावना विकास गर्दै दुःखमा परेकाहरूको साथमा उभिने प्रतिबद्धता व्यक्त गरिएको छ।
यो अभियान कुनै पनि राजनीतिक दल वा विचारसँग आबद्ध नभएको बताईएकाे छ। इच्छुक सबै नागरिक स्वतन्त्र रूपमा अभियानमा आबद्ध हुन सक्ने जनाईएकाे छ। हाल पञ्चेश्वर गाउँपालिका–४ बाट सुरु गरिएको अभियानलाई अनुभव र आवश्यकताका आधारमा भविष्यमा अन्य स्थानमा पनि विस्तार गर्ने योजना रहेको छ।
अभियान सञ्चालनका लागि सदस्य तथा सहयोगीहरूले आफ्नो आम्दानीको सानो अंश स्वेच्छिक रूपमा योगदान गर्ने व्यवस्था गरिएको छ। “थोपा–थोपा मिलेर सागर बन्छ” भन्ने भावनाअनुसार सानो सहयोगले पनि ठूलो परिवर्तन सम्भव हुने विश्वास अभियानकर्ताहरूले व्यक्त गरेका छन्।
अभियानले छिट्टै फिल्डमा सक्रिय भएर वास्तविक आवश्यकतामा रहेका नागरिकलाई प्रत्यक्ष सहयोग गर्ने तयारी गरिरहेको जनाएको छ। आयोजकले समाजका सबै पक्षलाई अभियानमा सहभागी भई सहयोग, सुझाव र सहकार्य गर्न आग्रह गरेका छन्।