मंकीपक्सको जोखिम । कसरी जोगिने?

विश्वभरमा फैलिएको मंकीपक्सको संक्रमण नेपालमा पनि पहिलो पटक एक ६० वर्षीया विदेशी महिलामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ। यस रोगको हालसालैको प्रकोप करिब एक वर्षअघि लण्डनमा फेला परेको थियो। त्यसयता अहिलेसम्म ११० भन्दा बढी देशमा देखिएको मंकीपक्सबाट ८७ हजार भन्दा बढी संक्रमित भएका छन् भने ११२ को मृत्यु भइसकेको छ।

यस रोगको संक्रमण दर घटाउन विश्व स्वास्थ्य संगठनले सबै देशलाई उचित उपाय अपनाउन आहृवान गरेको छ। त्यस्तै नेपालमा संक्रमण फेला परेपछि नेपाल सरकारले पनि आकस्मिक उपायहरू अपनाउन थालेको छ।

मंकीपक्ससँग लड्नका निमित्त नेपालभर विभिन्न अस्पतालमा यस रोगको उपचारका लागि डाक्टरहरू परिचालन गरिएको छ। त्यसैगरी लक्षणहरूको बारेमा सल्लाह सुझाव लिनका लागि सर्वसाधारणका लागि हटलाइन नम्बरहरू १११५ र ११३३ निर्धारण गरिएको छ ।

के हो मंकीपक्स?
मंकीपक्स अथवा एमपक्स एक भाइरल रोग हो जुन मंकीपक्स भाइरसले गर्दा मानवजाति तथा केही अरू प्राणीमा लाग्ने गर्दछ। यस भाइरसका दुई प्रजाति छन्, क्लेड(वान र क्लेड(टु । यो बिफर गराउने भाइरससँग मिल्दोजुल्दो हुन्छ। सन् १९५८ मा बाँदरमा फेला परेको थियो। यो भाइरसको संक्रमण मानिसमा पहिलो पटक सन् १९७० मा भेटिएको थियो।

सन् १९८० मा बिफर उन्मूलन भएर खोप लगाउन बन्द भएपछि अफ्रिकामा विस्तारै मंकीपक्स देखा पर्न थालेको थियो। अफ्रिकाका साना स्तनधारी जनावर जस्तै बाँदर, मुसा, लोखर्केमा यो भाइरस भेटिएको उल्लेख छ। सन् २००३ मा अमेरिकामा निर्यात गरिएका जंगली जनावरहरूबाट पनि संक्रमणहरू फैलिएको थियो । त्यसयता बर्सेनि प्रजातान्त्रिक गणतन्त्र कंगोमा कैयौं संक्रमण भेटिने गरेको छ।

सन् २०२२ को मेमा यूरोपबाट सुरु भएको यो महामारी अमेरिका तथा अन्य विभिन्न मुलुकमा फैलिएको छ । यसको कारक भाइरस प्रजाति क्लेड-टु रहेको  । त्यस्तै सुडानमा शरणार्थीहरूमा देखिएको संक्रमण भने क्लेड(वानको कारण रहेको छ।

कसरी सर्छ?
मंकीपक्सको संक्रमणले शरीरमा घाउ(खटिरा आउने गर्छ। यस्ता घाउ(खटिरामा हुने संक्रमित पदार्थको सम्पर्कमा आउँदा उक्त भाइरस एकदेखि अर्कामा सर्ने गर्छ। संक्रमण फैलिने माध्यममा स्पर्श गर्ने, चुम्बन तथा यौन सम्पर्क आदि पर्छन्। त्यस्तै श्वास(प्रश्वासको माध्यमबाट, बोल्दा, खोक्दा पनि एकअर्कामा सर्ने गरेको छ 

एउटै सामान तथा कपडाको प्रयोग गर्दा पनि यसको संक्रमण हुने सम्भावना रहन्छ । संक्रमित जनावरहरूको मासु खाँदा, शिकार गर्दा, जनावरले टोक्दा वा चिथोर्दा पनि सर्न सक्ने सम्भावना रहेको छ। अहिलेको महामारी यौनसम्पर्क प्रमुख माध्यम रहेको र यो रोग फैलिनुमा यौनकर्मीको प्रमुख भूमिका पाइएको छ ।

लक्षणहरू
मंकीपक्सको संक्रमणको १ देखि २१ दिनसम्ममा लक्षणहरू देखा पर्छन् । प्रायः संक्रमितमा एक हप्ताभित्रमा लक्षण देखिन्छन् र २ देखि ४ हप्तासम्म रहिरहन्छन्। रोग प्रतिरोधात्मक क्षमता कम भएकामा भने लामो समयसम्म लक्षण देखा पर्न सक्छन् । यस अवधिपछि भने रोग विस्तारै निको हुँदै जान्छ ।

लक्षणहरूमा डाबर आउने, ज्वरो आउने, घाँटी दुख्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, ढाड दुख्ने, थकान हुने, ग्रन्थी सुन्निने आदि हुन् । सुरुमा देखिने डाबर विस्तारै बढ्दै गएर फोका उठ्ने, चिलाउने, दुख्ने हुनसक्छ । कसैमा थोरै तथा कसैमा सयौं खटिरा आउन सक्छन्। खटिरा शरीरको जुनसुकै भागमा आउन सक्छ तर प्रायः हातखुट्टा, अनुहार, मुख, घाँटी तथा तिघ्राको भित्री भागमा बढी देखिन्छ ।

प्रायः संक्रमितमा सुरुमा ज्वरो, मांसपेशी दुख्ने तथा घाँटी दुख्ने र पछि अनुहारमा डाबर आउन सुरु हुन्छ । डाबर शरीरभरि फैलिन्छ र फोकामा परिणत हुन्छ। फोका फुटेर खटिरा बन्छ र निको हुँदै गर्दा खटिरा झरेर जान्छ । सबै खटिरा हराउँदासम्म संक्रमित व्यक्तिले रोग अन्यमा सार्न सक्छ ।

गर्भवती महिला, बालबच्चा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा भने जटिलताहरू उत्पन्न हुने जोखिम बढी हुन्छ। जटिलताहरूमा अरू संक्रमणको सम्भावना, न्युमोनिया, इन्सेफलाइटिस, आँखाको ज्योति गुम्ने आदि हुनसक्छ । साथै गर्भवती महिलाको बच्चा खेर जाने हुनसक्छ ।

परीक्षण र उपचार
मंकीपक्सका लक्षणहरू अरू संक्रमणहरू जस्तै ठेउला, लुतो, दादुरा आदिसँग मेलखाने भएकोले छुट्याउन गाह्रो हुन्छ। यसको परीक्षणको लागि घाउ(खटिरा, फोका तथा नाक(मुख, घाँटी आदिको स्वाब लिएर भाइरसको पीसीआर प्रणालीबाट जाँच गरिन्छ ।

मंकीपक्सको उपचार लक्षणहरूमा केन्द्रित हुन्छ। संक्रमण हुँदैमा अस्पताल जानुपर्ने जरूरी हुँदैन । संक्रमण भएपछि सकेसम्म घरमा आफ्नो कोठामा बस्नुपर्छ । अरूसँग सम्पर्कमा नआउने, आफ्नो सामान तथा कपडा अरूलाई चलाउन नदिने, मास्क लगाउने, साबुनपानीले बेलाबेला हात धुने, छाला सुख्खा र खुला छोड्ने आदि गर्न सकिन्छ।

त्यस्तै प्रशस्त पानी पिउने, स्वस्थ खाना खाने र दुःखाइ र ज्वरोको लागि सिटामोल जस्ता औषधि खान सकिन्छ । त्यस्तै फोका फुटाउने कोटयाउने भने गर्नुहुँदैन। अन्य व्यक्तिहरूको नजिक हुँदा मास्क लगाउने तथा खटिराहरू छोप्नाले रोग सर्ने जोखिम कम हुन्छ। लक्षणहरू धेरै बढ्दा वा थप जटिलता देखा परेमा भने नजिकैको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्न जरूरी हुन्छ ।

रोकथाम
पहिले बिफरको लागि उत्पादन भएको खोप अहिले मंकीपक्सको रोकथाममा प्रयोगमा आएको छ । यो खोप संक्रमणको उच्च जोखिममा रहेका तथा तत्कालै संक्रमित व्यक्तिलाई दिइने गरेको छ। संक्रमित व्यक्तिको सम्पर्कमा आएको ४ दिनसम्ममा खोप लगाउन विश्व स्वास्थ्य संगठनले सल्लाह दिएको छ ।

त्यस्तै पहिले बिफरमा प्रयोग हुने एन्टीभाइरल जस्तै टेकोभाइरिम्याट पनि एमपक्सको उपचारमा प्रयोग गर्ने गरिएको छ । यसैगरी संक्रमण भइसकेपछि आइसोलेशन बसेर रोगको संक्रमण कम गर्न सकिन्छ ।

अहिलेसम्म नेपाली नागरिकमा संक्रमण पुष्टि भएको छैन तर पनि यो रोग लागेको छैन भनेर ढुक्क हुने अवस्था छैन। सरकारले रोगको परीक्षणका लागि केन्द्रहरू छुटयाएर उपचार गराउने आधिकारिक स्थानहरूको निक्र्योल गर्न जरूरी छ।

यस रोगले उग्र रूप लिनुअगावै सरकारले उचित उपायहरू अपनाएर संक्रमण रोक्न परीक्षण तथा उपचारमा ध्यान दिन जरूरी हुन्छ । त्यसैगरी विभिन्न संचारमाध्यम मार्फत अथवा अन्य निकाय मार्फत यस रोगको बारेमा जानकारी र रोकथाम बारे जागरुकता गराउन जरूरी देखिन्छ।

Leave A Reply

Your email address will not be published.