एक वर्षपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि शुरु हुँदैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्न लागेको हो। बैठकअघि एजेण्डाबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शीर्ष नेताहरुको बैठक बिहान ९ बसेको छ।

शीर्ष नेताहरुको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने छन्। कांग्रेसको विधान अनुसार केन्द्रीय समिति बैठक हरेक दुईरदुई महिनामा बस्नुपर्ने भए पनि एक वर्षपछि बल्ल बैठक बस्न लागेको हो।

बैठकमा संगठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ। प्रदेश र केन्द्र सरकारका काम कारबाही पनि छलफलको एजेण्डा रहेको छ। केही दिनअघि जिल्ला सभापतिहरूले सरकार र पार्टीबीच समन्वय नहुँदा समस्या भइरहेको गुनासो गरेका थिए । प्रदेश र केन्द्रका सांसदहरूले पनि बजेट विनियोजनमा गुनासो गर्दै आएका छन्।

केन्द्रीय कार्यसमिति बैठक बस्न नसक्दा कार्यसम्पादन समितिले निर्णय गर्नसक्ने विधानको व्यवस्था छ। कांग्रेसले गएको वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म केन्द्रीय समिति बैठक गरेको थियो। त्यसपछि भने केन्द्रीय समिति बैठक बस्न सकेको थिएन। यसैबीच, कांग्रेसले दशैँअघि नीति अधिवेशन गर्ने तयारी पनि गरेको छ।

Leave A Reply

Your email address will not be published.