कैलाली– कैलालीको बुढीतोलामा अवरुद्ध भीमदत्त राजमार्ग आंशिक रुपमा सुचारु भएको छ । प्रदेश ट्राफिक प्रहरी अत्तरियाका अनुसार बुढीतोलाबाट खाली ट्रक र टप्पर गन्तव्यतिर जान लागेका हुन् ।
जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर–४ बुढीतोलामा भासिएको सडक मर्मत भएपछि खाली ट्रक र टिप्पर तराई झर्न सुरु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
जमिन मुनी पानी भएकाले सडकमा समेत हिलोे छ । हिलोमा अन्य यातायातका साधन फस्ने भएकाले सञ्चालन गर्न दिइएको छैन ।
शनिवार वर्षा भएपछि यातायात बन्द हुने छ। वर्षा नभएपछि मात्र यातायात सञ्चालन गर्न सकिने ट्राफिक प्रहरीले बताएको छ । गत सोमवार रातिको वर्षाले भीमदत्त राजमार्गमा पहिरो गएको थियो ।
राजमार्गको भ्यागुते पानी, बुढी तोला लगायतका क्षेत्रमा पहिरो गएको हो। पहिरोका कारण सुदूर पहाडका सात जिल्लाका सडक सम्पर्क टुटेको छ ।
सडक अवरुद्ध भएपछि चालकसँगै यात्रुले समेत अनावश्यक दुःख पाइरहेका छन् ।