बैतडीमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

बैतडी । जिल्ला कारागार बैतडीमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ। २५ जनाको क्षमता रहेको कारागारमा अहिले ७५ जना कैदीबन्दी रहेका छन्।

२०४० सालमा निर्माण गरिएको कारागारको जीर्ण भवनमा कैदीबन्दी राख्न निकै समस्या रहेको कारगारकी जेलर धारा भण्डारीले बताइन्। उनले भनिन् ‘कारागार भवनमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ। बास बसाइका लागि निकै सकस रहेको छ।’

जस्तापाताले छाएको कारागार भवनमा बर्षातको समयमा पानी चुहिने र हिउँदको समयमा शीत चुहिने गर्दछ। खाटमाथि खाट राखेर कैदीबन्दीको बसोबासको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको भण्डारीले बताइन्।

जिल्ला कारागार भवन मर्मतका लागि गत आर्थिक बर्षमा ३ लाख बजेट आएकोमा एक भवन मर्मत गरिएको र अर्को भवन मर्मत गर्न बाँकी रहेको छ। कारागार भवनमा कैदीबन्दीहरुलाई बसोबासको समस्या रहेको बताइएको छ। कारागार भवनमा ठाउँको अभाव एकातिर छ भने जीर्ण भवन अर्कोतिर रहेको छ। भवनको छानामा प्लास्टिक हालेर व्यवस्थापन गर्नुपरीरहेको भण्डारीले बताइन्।

कारगार परिसरमा कैदीबन्दीका लागि राखिएको टेन्ट समेत च्यातिएको छ। पुरानो टेन्ट च्यातिएपछि कैदीबन्दीहरुका लागि झन् समस्या भएको छ।

जिल्ला कारागारको भवन निर्माणका लागि अहिले सम्म केही जानकारी नआएको जेलर भण्डारीले बताइन्।

Leave A Reply

Your email address will not be published.