बैतडी । निङलाशैनी क्रिकेट क्लब (एनसीसी), बैतडीमा जारी सोह्र वर्षमुनिको पुरूष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न खेलमा त्रिपुरा क्रिकेट क्लबमाथि ८ विकेटको जित निकाल्दै एनसीसी लगातार तेस्रो जितका साथ फाइनलमा पुगेको हो।
त्रिपुराले दिएको ११९ रनको लक्ष्य एनसीसीले १५।२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। जसमा कप्तान विक्रम वोहराले अर्धशतकीय पारी खेल्दै ५९ रनमा अविजित रहे। विक्रमको यो तेस्रो अर्धशतक होे। त्रिपुराका निरज चन्दले २ विकेट हात पारे।
यसअघि दशरथचन्द खेलमैदान सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेको त्रिपुरा १७ ओभरमा ११९ रनमा समेटियो। उसका अशोक टमटाले सर्वाधिक ३३ रन बनाए। एनसीसीका वसन्त बोहराले ४, कृष्ण बोहराले ३ र कप्तान विक्रम वोहराले २ विकेट लिए। विक्रम खेलका म्यान अफ द म्याच चुनिएका स्कोरर दिपेन्द्र बहादुर बोहराले जानकारी दिनुभयो।
सहिद दिवसको उपलक्ष्यमा बैतडी जिल्ला क्रिकेट संघको आयोजना र सहिद दशरथचन्द स्मृति प्रतिस्ठानको सहआयोजनामा माघ ९ गतेदेखि प्रतियोगिता शुरू भएको हो। उमेर समूहको यो प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो ।