बैतडी : पञ्चेश्वर गाँउपालिका–०४ सैलोडामा रहेको जवलपुर माध्यमिक बिद्यालयको छानो हावाले उडाएको छ। सोमबार बेलुका आएको हावाहुरीले कक्षा ४ र ५ का बिद्यार्थीले अध्ययन गर्ने दुईकोठे भवनको छानो, दुईकोठे चर्पिको छानो, मल्टीस्टोरी भवनको छत, दुई सोलार पातामा क्षति पुगेको प्रधानाध्यापक समशेर सिह घोटाले बताउनुभयो।
बिद्यालयले हावाहुरीका कारण करिब ८ लाँख बराबरको क्षति ब्यहोर्नु परेको प्रधानाध्यापक घोटाले बताउनुभयो। बिद्यालयमा भएको क्षतिबारे सैलोडा प्रहरी चौकिलाई र वडालाई खबर गरिएको उहाले बताउनुभयो।
जस्तापातालो छाएको छानो हावाहुरीले उडाउदा पठन पाठनमा समस्या भएको छ। बिद्यार्थीहरुलाई भुईमा राखेर पठन पाठन गर्नुपर्ने अवस्था आएको बिद्यालयले जनाएको छ।
बिद्यालयको छानो मर्मतका लागि वडा र पालिकालाई आग्रह गरिने प्रधानाध्यापक घोटाले बताउनुभयो।