बैतडी– बैतडीको मेलौली नगरपालिकाले प्रसिद्ध मेलौली भगवती जात्राको अवसरमा दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै आगामी मंसिर ७ र ८ गते स्थानीय बिदा दिने जनाएको हो ।
मेलौली भगवती माताको मन्दिरमा कार्तिक शुक्ल पक्ष चतुर्दशी र पूर्णिमाको शुभतिथिमा लाग्ने ऐतिहासिक, मौलिक, धार्मिक तथा सांस्कृतिक पर्व मेलौली भगवती जात्राको अवसरमा बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख भीमबहादुर चन्दद्वारा हस्ताक्षरित सूचनामा नगरपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था तथा बैंक तथा वित्तीय संस्थाहरूमा स्थानीय बिदा रहने उल्लेख गरिएको छ ।
नगरपालिकाले जात्राको अवसरमा नगरवासी तथा सम्पूर्ण श्रद्धालु भक्तजनमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेको छ ।
मेलौली भगवती मन्दिरमा लाग्ने उक्त जात्रालाई स्थानीय भाषामा ‘देहीजात’ का रूपमा चिनिन्छ । जात्रामा सुदूरपश्चिम, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन आउने गरेका मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिंह नायकले बताए ।
