बैतडीको मेलौली भगवती मन्दिरमा मंसिर ७ र ८ गते ‘देहीजात’ हुने

बैतडी-बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिरमा मंसिर ७ र ८ गते ‘देहीजात’ हुने भएको छ । ‘देहीजात’मेलौली भगवती मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने जात्रा हो ।

मेलौली नगरपालिका – १ मा रहेको सो मन्दिरमा लाग्ने ‘देहीजात’ मा बोका र राँगाको बलि दिइने गरेको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदीश सिंह नायकले बताए ।

देहिजाँतको रूपमा परिचित मेला बलि सहितको भव्य रुपमा लाग्ने गर्छ । मेला हेर्न र देबताको दर्शन गर्न सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेश र छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु पुग्ने गरेका नायकले बताए ।

मेलौली मन्दिरमा लाग्ने जात्रालाई स्थानीय भाषामा ‘देहीजात’ भन्ने चलन रही आएको छ । यो जात्रामा टाढाटाढाबाट समेत दर्शनार्थीहरु आउने गरेका स्थानीय रमेश दयालले बताए ।

Leave A Reply

Your email address will not be published.