ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै, शपथ भोलि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री बन्दै हुनुहुन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीका रूपमा एमाले संसदीय दलका नेता ओलीलाई नियुक्त गर्नुहुने भएको हो। उहाँले नयाँ सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढ्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज बेलुका ५ बजेभित्र दाबी पेश गर्न अस्ति शुक्रवार आह्वान गर्नुभएको थियो। आह्वान अनुसार एमालेका अध्यक्ष ओलीले नेपाली कांग्रेसको समर्थनमा शुक्रवार नै प्रधानमन्त्रीका लागि दाबी पेश गरिसक्नुभएको छ।

राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आज ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुहुनेछ। आज समय ढिला हुने भएकाले भोलि बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीको शपथग्रहण कार्यक्रम हुने पनि प्रेस सल्लाहकार पोखरेलले बताउनुभय।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले शुक्रवार प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको हो ।

ओली चौथो पटक प्रधानमन्त्री हुन लाग्नुभएको हो। यसअघि उहाँ २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री बनिसक्नु भएको छ। नयाँ सत्ता समिकरण बनाएका कांग्रेस र एमाले पहिलो चरणमा सानो मन्त्रिपरिषद् गठन गर्न गृहकार्यमा जुटेका छन् ।

Leave A Reply

Your email address will not be published.