सुदूरपश्चिमका थप दुई क्रिकेटरले तलब पाउने

बैतडी: सुदूरपश्चिम प्रदेशका थप दुई खेलाडीले मासिक रुपमा तलब पाउने भएका छन्। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले प्रदेशबाट नियमित रुपमा राष्ट्रिय प्रतियोगिता खेलिरहेका एक महिला र एक पुरुष खेलाडीलाई मासिक १५ हजारका दरले प्रोत्साहन रकम दिने भएको हो।

मासिक रुपमा प्रोत्साहन रकम पाउनेमा बैतडीका दीपक बोहरा र बझाङकी अनु कडायत रहेकी सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीले जानकारी दिनुभयो। एमबी ग्रुप डडेल्धुराको प्रायोजनमा दुबै खेलाडीलाई मासिक रुपमा प्रोत्साहन रकम पाउनेछन्। डिसेम्बर १ तारिखदेखि लागू हुने गरि दुबै खेलाडीलाई मासिक रुपमा प्रोत्साहन रकम दिने गरि प्रायोजन सम्झौता भएको एमबी ग्रुपका प्रवन्धक बाशु जोशीले बताउनुभयो।

सम्झौताभएसंगै एमबी ग्रुपले एक वर्षसम्म दीपक र अनुलाई मासिक रुपमा १५ हजारका दरले प्रोत्साहन रकम प्रदान गर्नेछ। दीपक र अनुले सुदूरपश्चिमबाट थुप्रै राष्ट्रिय प्रतियोगिता खेल्नुका साथै उमेर समूहका अन्र्तराष्ट्रिय प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीबाट पनि सहभागिता जनाइकेका छन्।

प्रादेशिक क्रिकेट संघले निकट भविष्यमै अन्य खेलाडीलाई पनि प्रोत्साहन भत्ता दिने तयारी गरेको छ। यसअघि नेपाल क्रिकेट संघ क्यानबाट मासिक रुपमा सुदूरपश्चिम प्रदेशका पाँच खेलाडी प्रोत्साहन रकम पाउनका छनौट भएका थिए। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले तीन पुरुष र दुई महिला गरि पाँच खेलाडीलाई छनौट गरेको हो।

छनौट हुने पुरुष खेलाडीहरुमा खडक बोहरा, किरन ठगुन्ना,शेर मल्ल र महिला खेलाडीहरुमा सावित्री धामी, स्नेहा महरा रहेका छन्।

Leave A Reply

Your email address will not be published.