२१ औं संस्करणको बिडिसिए इलाइट कप: पञ्चकोटीको दोस्रो जित, एकेडेमी पराजित

बैतडीमा जारी २१ औं संस्करणको रेडियन्ट ग्याँस बिडिसिए इलाइट कप एकदिवसीय क्रिकेट प्रतियोगितामा पञ्चकोटी युवा क्लबले दोस्रो जित निकालेको छ। दोस्रो जित दर्ता गर्ने पञ्चकोटीले दशरथचन्द क्रिकेट एकेडेमीलाई ५ विकेटले हरायो।

जितका लागि पाएको २६५ रनको लक्ष्य पञ्चकोटीले ३८।१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । जसमा सुमित बुडालले हिर्काउदै १०१ र सुदीप कार्कीले अर्धशतक प्रहार गर्दै ७८ रनको योगदान गरे। एकेडेमीका आयुस चन्द,निखिल चन्द र विरेन्द्र चन्दले १र१ विकेट हात पारे।

यसअघि दशरथचन्द खेलमैदान,सुन्दरखालीमा पहिला ब्याटिङ गरेको एकेडेमीले ४० ओभरमा ९ विकेटको क्षतिमा २६४ रन बनायो। उसका लोकेश चन्द र सुनिल चन्दले समान ५१र५१ रन बनाए। पञ्चकोटीका जीवन कार्कीले ३,कैलाश बुडाल र उमेश बुडालले २र२ विकेट झारे।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर २० गतेदेखि सुरू भएको प्रतियोगिता मंसिर ३० गते सम्पन्न हुनेछ । प्रतियोगिताको प्रथम पुरस्कार १ लाख,द्वितीय पुरस्कार ५० हजार र म्यान अफ द सिरिजलाई १५ हजार पुरस्कार दिइनेछ ।

यो प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनौट प्रतियोगिताको रूपमा समेत लिइएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो। गत वर्ष सम्पन्न २० औ संस्करणको बिडिसिए कपको उपाधि दशरथचन्द क्रिकेट एकेडेमीलाई १ विकेटले स्तब्ध पार्दै निङ्गलाशैनी क्रिकेट क्लबले जितेको थियो।

Leave A Reply

Your email address will not be published.