आज धान्य पूर्णिमा, योमरी पुन्ही र उधौली पर्व

आज मंसिर महिनाको पूर्णिमा तिथि। आजको दिन धान्य पूर्णिमा, योमरी पुन्ही र उधौली पर्वका रुपमा मनाइँदैछ।

नेपाली समाजमा धानलाई लक्ष्मी वा समृद्धिको प्रतीक मानेर पूजा गर्ने परम्परा रहेको छ। यस दिन धानको पर्वत बनाएर पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ।

नयाँ उब्जिएको खाद्यान्न आफूले खानुभन्दा पहिले देवता र पितृलाई चढाएर मात्र आफूले खाने परम्परा अनुसार विशेषगरी पहाडी क्षेत्र तथा अन्य स्थानमा बसोबास गर्ने समुदायले कुलपूजा र गोठपूजा गर्ने चलन छ।

यसैगरि नेवार समुदायले आज योमरी पुन्ही मनाउँदै छन्। चामलको पीठो, चाकु, कालो तीलको योमरी बनाएर यस वर्ष भित्र्याएको अन्नबालीसहित भकारी पूजा गर्ने चलन छ। यसरी पूजा गरेमा वर्षभरी अन्नको अभाव नहुने जनविश्वास छ। योमरी पून्हीको अवसरमा आज देशका विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदै छ।

यस्तै, किराँत समुदायले आफ्नो महान पर्व उधौली मनाइरहेका छन्। हरेक वर्ष मंसिर पूर्णिमाका दिनदेखि शुरु हुने उधौली पर्व मानिस, जनावर र चराचुरुंगी लेकबाट बेसितिर बसाइँ सर्ने समय भएको संकेतका रुपमा लिइन्छ। साथै अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाईन्छ।

ज्यापु दिवस पनि आजै भएकाले देशभरका ज्यापु समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी आज ज्यापु दिवस मनाउँदै छन्। यस्तै आज नेपाली समाजका विभिन्न समुदायले मंसिरे पूर्णिमाका रुपमा पर्व मनाउँदैछन्।

Leave A Reply

Your email address will not be published.