दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदुरपश्चिम प्रदेश छनोट माघ २८ गतेदेखि हुने भएको छ। सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको आज धनगढीमा बसेको बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदुरपश्चिम प्रदेश छनोटको मिति तय गरेको सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंहले जानकारी दिए।
बैठकले माघ २८ गतेदेखि फागुन २ गतेसम्म दशौं राष्ट्रिय खेलकुदको छनोट प्रतियोगिता कैलाली र कञ्चनपुरमा आयोजना गर्ने निर्णय गरिएको छ। बैठकले सुदुरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्ड फागुन २२ गतेदेखि २४ गतेसम्म गर्ने निर्णय गरिएको छ। त्यसअघि फागुन १५ गतेसम्म सबै जिल्लाको छनोट सम्पन्न गरिसक्नु पर्ने भनिएको छ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कैलालीको धनगढी र अत्तरिया तथा कञ्चनपुरको महेन्द्रनगरमा छनोट प्रतियोगिता आयोजना गरिनेछ। कैलालीको धनगढीमा फुटबल, एथलेटिक्स, खो खो र अत्तरियामा बुद्धिचालको छनोट प्रतियोगिता आयोजना गरिनेछ। कञ्चनपुरमा बक्सिङ, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, टेबल टेनिस, क्रिकेट बास्केटबल, कुस्ती, भारात्तोलन छनोट प्रतियोगिताका खेलहरु हुनेछन्।