प्रधानमन्त्री कप महिला राष्ट्रिय टि २० क्रिकेट, एपिएफले जित्यो उपाधि

धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगीताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल भिडन्तमा घरेलु टोली सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको जित निकाल्दै एपिएफले उपाधि रक्षा गर्यो । एपिएफले लगातार दोस्रोपटक उपाधि जितेको हो।

उपाधिसंगै एपिएफले ५ लाख पुरस्कार पायो भने सुदूरपश्चिमले ३ लाखमा चित्त बुझायो। जितका लागि पाएको ६८ रनको विजयी लक्ष्य एपिएफले १२।५ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्यो।

जसमा ममता चौधरीले अविजित ४३, कप्तान ईन्दु बर्मा नटआउट १८ रन जोडिन्। यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १८।१ ओभरमा ६७ रनमा समेटियो ।
जसमा ममता बोहराले १८ र कप्तान विन्दु रावलले १७ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन समेत जोड्न सकेनन् ।

बलिङतर्फ एपिएफका कविता जोशीले ३, कप्तान ईन्दु बर्मा र सबनम राईले २र२ विकेट हात पारे । कविता प्लेयर अफ द म्याच समेत चुनिइन्।

यसैबिच प्रतियोगिताभर व्यक्तिगत १७२ रन र ५ विकेट हात पारेकी एपिएफकी कप्तान ईन्दु बर्मा प्लेयर अफ द सिरिज भईन्। यस्तै एपिएफकै लागि २०९ रन बनाएकी ममता चौधरी बेस्ट ब्याटर र बागमतीका लागि १० विकेट हात पारेकी मनिषा उपाध्याय बेस्ट बलर हुन सफल भईन् ।

प्लेयर अफ द सिरिजले ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई २५र२५ हजार पुरस्कार पाए। माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा १२ टोलीको सहभागीता रहेको थियो।

राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो ।

फाइनल समारोहमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द,उपाध्यक्ष रोशन सिंह, सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंह, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीलगायतको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.