बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिकामा विद्यालयस्तरीय वार्षिक परीक्षा आगामी चैत्र ७ गतेदेखि सुरु हुने भएको छ। गाउँपालिकाले जारी गरेको सूचनाअनुसार, कक्षा ४ देखि ९ सम्म का विद्यार्थीहरूको परीक्षा एकै मितिबाट सञ्चालन गरिनेछ।
गाउँपालिकाका सम्पूर्ण विद्यालयमा एकरूपता कायम गर्न तथा परीक्षालाई व्यवस्थित बनाउने उद्देश्यले कार्यपालिकाको बैठकबाट पारित निर्णयअनुसार परीक्षा तालिका तयार गरिएको हो। यसका साथै, कक्षा ८ को पालिकास्तरीय परीक्षा पनि सोही मितिदेखि सुरु हुने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले सम्पूर्ण विद्यालय व्यवस्थापन, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई निर्धारित मिति, समय तथा परीक्षा निर्देशिका पालन गर्न अनुरोध गरेको छ। परीक्षालाई मर्यादित रूपमा सम्पन्न गर्न विद्यालय प्रशासनले आवश्यक तयारी गरिसकेको छ।
विद्यार्थीहरूलाई समयमै तयारी गर्न आग्रह गर्दै, परीक्षा सुव्यवस्थित बनाउने सम्पूर्ण प्रक्रियामा सबै पक्षको सहयोग आवश्यक रहेको गाउँपालिकाले उल्लेख गरेको छ।
