बैतडी-मेलौली नगरपालिकामा नगरस्तरीय शैक्षिक परामर्श सभा सम्पन्न भएको छ। नगरपालिकाको समग्र शैक्षिक अवस्थालाई सुदृढ, व्यवस्थित र गुणस्तरीय बनाउने उद्देश्यले आयोजित परामर्श सभामा नगरको शिक्षा क्षेत्रको वर्तमान अवस्था, देखिएका चुनौती तथा आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा गहन छलफल गरिएको छ।
मेलौली नगरपालिकाका नगर प्रमुख भीमबहादुर चन्दको अध्यक्षता तथा शिक्षाविद् प्राध्यापक डा विद्यानाथ कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नगरपालिकाभित्रको शिक्षा प्रणालीलाई थप प्रभावकारी बनाउने, विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने तथा विद्यार्थीको सिकाइ उपलब्धि बढाउने विषयमा विज्ञ तथा शिक्षा क्षेत्रका सरोकारवालाबीच छलफल गरिएको थियो।
कार्यक्रममा नगर उपप्रमुख पार्वती बोहरा बिष्ट, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा, शिक्षा शाखा प्रमुख मुनु कुमारी क्षेत्री, शिक्षा नीति तथा अभ्यास केन्द्रका प्रमुख टीका भट्टराई, ‘शिक्षक’ मासिक पत्रिकाका प्रमुख सम्पादक कृष्ण मल्ल लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक तथा शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो।
परामर्श सभामा मेलौली नगरपालिकाको शैक्षिक अवस्थाको समीक्षा गर्दै विद्यालयमा देखिएका समस्या, चुनौती तथा सुधारका सम्भावित उपायबारे छलफल गरिएको थियो। साथै विद्यालयको भौतिक तथा शैक्षिक वातावरण सुधार, शिक्षकको क्षमता विकास, विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि, अभिभावकको सहभागिता तथा स्थानीय तहको शैक्षिक भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा समेत विचार–विमर्श गरिएको शिक्षा शाखा प्रमुख मुनु कुमारी क्षेत्रीले बताईन्।
कार्यक्रममा सहभागी शिक्षाविद् तथा शिक्षा क्षेत्रका सरोकारवालाले स्थानीय तहको समग्र विकासका लागि गुणस्तरीय शिक्षा महत्वपूर्ण आधार भएकाले विद्यालय, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए।
शिक्षा क्षेत्रमा देखिएका समस्याको पहिचान गरी त्यसको समाधानका लागि सबै पक्षले साझा जिम्मेवारीका साथ अघि बढ्नुपर्ने धारणा उनीहरूले राखेका थिए।
शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयमा अनुकूल सिकाइ वातावरण निर्माणसँगै विद्यार्थीको आवश्यकता र क्षमतालाई केन्द्रमा राखेर शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्नेमा समेत कार्यक्रममा जोड दिइएको थियो।
स्थानीय आवश्यकता, स्रोतसाधन र सम्भावनालाई ध्यानमा राखेर नगरपालिकाको शिक्षा क्षेत्रको दीर्घकालीन सुधारका लागि स्पष्ट योजना र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको सहभागीहरूको भनाइ थियो।
कार्यक्रममा नगर प्रमुख भीमबहादुर चन्दले नगरपालिकाको विकास र समृद्धिको आधार शिक्षा भएकाले शिक्षा क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए। शिक्षाको गुणस्तर सुधारका लागि स्थानीय सरकार, विद्यालय र समुदायबीच सहकार्य तथा समन्वयलाई थप मजबुत बनाउने आवश्यकता रहेकोमा पनि जोड दिइएको थियो।
शिक्षा शाखा प्रमुख मुनु कुमारी क्षेत्रीका अनुसार नगरपालिकाको शिक्षा क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले परामर्श सभा आयोजना गरिएको हो। सभाबाट प्राप्त सुझाव तथा विज्ञहरूको मार्गदर्शनले मेलौली नगरपालिकाको शैक्षिक सुधारका लागि आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताइन्।
शिक्षाको विकास नै नगरको समृद्धिको मुख्य आधार भएकाले यस प्रकारका छलफल र परामर्शले शिक्षा क्षेत्रका समस्या पहिचान गर्दै सुधारका लागि साझा धारणा निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रमले मेलौली नगरपालिकाको शैक्षिक रूपान्तरणका लागि नयाँ ऊर्जा र मार्गदर्शन प्रदान गरेको नगरपालिकाको विश्वास छ।
कार्यक्रममा उपस्थित अतिथि, जनप्रतिनिधि, शिक्षाविद्, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सम्पूर्ण शिक्षा क्षेत्रका सरोकारवालाप्रति आयोजकले आभार व्यक्त गरेको छ।