आज र भोलि देशका धेरै ठाउँको मौसम सफा रहने

आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा छ। तराईका थोरै ठाउँहरूमा हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक मात्र प्रभाव रहेकोले आज र भोलि देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने छ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशमा भने हल्का हिमपातको सम्भावना छ। भोलि बेलुका पनि कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना छ। तर पर्सि बिहीवारदेखि भने पश्चिमी वायु सक्रिय भएर बिहानैदेखि नेपालमा वर्षा गराउने प्रणाली विकास हुने मौसमविद् विनोद पोखरेलले बताउनुभयो।

उहाँका अनुसार यो प्रणालीले पर्सि बिहीवार र शुक्रवार काठमाण्डौ उपत्यकालगायत देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। हिउँदको अन्त्यमा विकसित हुन लागेको प्रणालीले पश्चिम नेपालमा भने राम्रो वर्षा गराउने सम्भावना बढेको छ।

मङ्सिर १६ देखि फागुन १६ सम्मको हिउँदे अवधिमा सरदर ६० मिलिमिटर वर्षा हुने गरेको छ। तर यसपटक औसतभन्दा कम पानी परेको छ। हिउँद याम सकिन ३ दिन मात्र बाँकी रहँदा अहिलेसम्म ९ दशमलव ५ मिलिमिटर मात्रै वर्षा भएको जलवायु विज्ञ धर्मराज उप्रेतीले जानकारी दिनुभयो। हिउँद सुक्खा हुँदो डढेलोसँगै वायु प्रदुषण बढ्नुका साथै कृषि क्षेत्रमा असर परेको छ।

Leave A Reply

Your email address will not be published.