डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका, भागेश्वर गाउँपालिका र बैतडीको मेलौली नगरपालिकाको संगम स्थल सिम दोगडामा रहेको गंगेश्वर धाम धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण स्थल मानिन्छ। यो धाम हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र रहेको छ। पौराणिक मान्यताहरू, स्थानीय विश्वास, प्राकृतिक सौन्दर्य तथा सांस्कृतिक विविधताको समावेशले गर्दा यो स्थानले विशेष महत्त्व राख्दछ।
गंगेश्वर धामको उत्पत्तिसँग जोडिएको एक गहिरो ऐतिहासिक भनाइ अनुसार भगवान शिव स्वंयम गंगोत्रि धाम गयाबाट आएर यहाँ बसेका हुन भन्ने मान्यता रहेको छ। जनविश्वास अनुसार अजयमेरुको सिम दोगडामा भगवान शिवको अवतार भएको थियो। एक गोठाला किसानले बनमा चराउन लगाएको गोरुले एउटा धमिरोको गोलोमा सिङ हान्दा त्यस भित्र फुटलिङ्ग रहेको र उक्त फुट लिङ्गमा हेर्दा स्वंयम् भगवान शिवले दर्शन दिएको भन्ने किंवदंति रहेको छ।
गंगेश्वर धामका मुल पुजारी पण्डित प्रेम राज पन्तले यस स्थानको धार्मिक महत्त्वबारे बताउदै भन्नुभएको छकि, “यो धाम एक जागृत स्थल हो, जहाँ भगवान शिवको दिव्य उपस्थितिको अनुभूति गर्न सकिन्छ।“ गंगेश्वर धाममा शिवको दिव्यअंशको रूपमा पूजा गरिन्छ।
पण्डित पन्तका अनुसार, “यहाँको शिला भगगवान शिवकै अङ्गको रूपमा मानिन्छ, जसले भक्तजनहरूलाई शिवको दिव्य अनुभूति प्रदान गर्छ।“ यस पवित्र स्थलमा दुई नदि मिलन हुन्छ। हिन्दू धर्मशास्त्र अनुसार दुइ नदिको संगम भएका स्थानहरू अत्यन्तै पवित्र मानिन्छन्। असोज आमावास्यका अवसरमा यहाँ भव्य मेला लाग्छ, जसमा स्थानीयबासी तथा टाढा–टाढाका श्रद्धालुहरूको ठूलो सहभागिता रहन्छ।
यस धामको विशेषता भनेको यहाँ गरिने पूजा विधि तथा सांस्कृतिक कार्यक्रमहरू हुन्, जसले हिन्दू धर्मको धार्मिक परम्पराहरूलाई अझ मजबुत बनाएको छ। गंगेश्वर धामसँग जोडिएका विभिन्न धार्मिक कथा तथा विश्वासहरू प्रचलित छन्। गंगेश्वर धामका पुजारी पण्डित प्रेम राज पन्तको भनाइ अनुसार हिन्दु शास्त्रमा उल्लेख सरयु नदि यहि सोर्नाया नदि भएकाले गंगोत्रि हरिद्वारमा स्नान गर्नु र गंगेश्वर धाम संगममा स्नान गर्नु समान फलदायी छ। प्राकृतिक रूपमा अत्यन्तै मनमोहक यस ठाउँलाई राज्यले प्रवद्र्धन नगरेकाले अझै पनि पर्याप्त प्रचार–प्रसार हुन सकेको छैन।
सुदूरपश्चिममा अवस्थित गंगेश्वरधामलाई धार्मिक पर्यटनको रूपमा प्रवद्र्धन गर्न सकिएमा स्थानीय अर्थतन्त्रमा उल्लेखनीय सुधार आउन सक्छ। उचित प्रचार–प्रसार, यातायात व्यवस्थापन, आधारभूत पूर्वाधारको विकास तथा सरकार तथा स्थानीय समुदायको संलग्नताले यस क्षेत्रलाई हिन्दू धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थलको रूपमा स्थापित गर्न सकिन्छ।
गंगेश्वर धाम एक पवित्र धार्मिक स्थल मात्र नभएर, ऐतिहासिक र सांस्कृतिक रूपमा अत्यन्तै महत्वपूर्ण स्थान हो। यस स्थानको धार्मिक महत्त्वलाई उजागर गर्दै पर्यटन प्रवद्र्धन गर्ने योजनाहरू आवश्यक छन्। यहाँको धार्मिक मान्यताहरू, प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहर संरक्षण गर्न सकेमा यो धाम हिन्दु धर्मावलम्बीहरूको एक प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ।
प्रेम राज पन्त
पुजारी गंगेश्वर धाम, अजयमेरु गाँउपालिका–०६ सिम दोगडा डडेल्धुरा