दोगडाकेदार गोलीकाण्डमा संलग्न अझै भेटिएन, हतियार सहित प्रहरी परिचालन

बैतडी-गोली प्रहार गरि भाईको हत्या गर्ने बैतडीको दोगडाकेदार गाउँपालिका-८ कालागाउँका ४५ वर्षीय कर्णबहादुर विष्ट अझै फरार अवस्थामा रहेका छन्।

गत शनिबार कर्णबहादुरले भाइ नाता पर्ने २५ वर्षीय सुरेन्द्र विष्टको गोली प्रहार गरि हत्या गरेका थिए।
गोली प्रहार गरेलगत्तै कर्णबहादुर बन्दुकसहित फरार भएका थिए।फरार कर्णबहादुरलाई पाँच दिनसम्म पनि समात्न नसक्दा सुरक्षा चुनौती बढ्नुका साथै प्रहरीमाथि प्रश्नचिह्न खडा हुन थालेको छ।पाँचदिन बितिसक्दा समेत फरार रहेका उनलाई प्रहरीले पक्राउ गर्न नसक्दा स्थानीयबासिन्दाले प्रहरीमाथिसमेत शंका गर्न थालेका छन्।

अपराधमा संलग्न व्यक्तीलाई पाँच दिनसम्म पनि समात्न नसक्नु प्रहरीको लापरबाही रहेको मृतकका आफन्त राजेन्द्र विष्टले बताउनुभयो ।गाउँको बीचमा यतिठुलो घटना हुँदा समेत जिल्लाको प्रहरी प्रशासनको नेतृत्व घटनास्थल पुगेको छैन ।
उहाँले भन्नुभयो,”घटनाभएको पाँच दिनसम्म गम्भीर अपराधमा संलग्नलाई प्रहरीले समात्न सकेको छैन्। यसमा प्रहरी प्रशासन चुकेको छ। गम्भीर भएर घटनामा संलग्नलाई समात्नुपर्छ।”

मृतकका आफन्तले तालिमप्राप्त कुकुरसहित प्रहरीको विषेश टोली समेत परिचालन गर्न माग गरेको छ।यता प्रहरीले भने घटनामा संलग्न कर्ण बहादुरको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको जनाएको छ।

बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेव बडूले हतियार सहित प्रहरी टोली परिचालित रहेको बताउनुभयो ।उहाँले भन्नुभयो,” सादा पोसाक र हतियार सहित प्रहरी परिचालन गरेका छौं।

भारततर्फ फरार हुन सक्ने भन्दै सीमानाकामा समेत कर्ण बहादुरको हुलिया सहित परिपत्र गरिएको छ।यसका साथै मोबाइल लोकेशन र जनसम्पर्कको आधारमा खोजी रहेको प्रवक्ता बडूले जानकारी दिनुभयो।

घटना भएलगत्तै आसपासका सबै नाका सिल गरेर कर्णबहादुरको मोबाइल लोकेशन र जनसम्पर्कको आधारमा खोजी गरिरहेका छौं।उहाँले भन्नुभयो,” शनिबार घटनाको केहिबेरसम्म मोबाईलको लोकेशन कालागाउँ आसपास देखिएको छ। त्यसपछि मोबाईल अफ रहेको र अहिले लोकेशन भेट्टिएको छैन्।”

मोबाइल लोकेशन नदेखिन थालेपछि प्रहरीले जनसम्पर्क बढाएर पनि उनको खोजी गरिरहेको छ।गाउँ नजिकै जंगलै जंगल रहेको र कर्ण बहादुर बन्दुक सहित भागेकोले प्रहरीलाई पनि खोजीका लागि जोखिम बढेको छ।

प्रहरीले इन्काउन्टर समेतको योजना बनाएर कर्णबहादुरलाई पक्राउ गर्नुपर्ने चुनौती छ।कर्ण बहादुर शिकारी रहेकाले सिकार गर्दै यसअघि पनि कयौंदिन जंगलमै बस्ने गरेका थिए।

फरार रहेका कर्णबहादुर यसअघि हातहतियार ओसारपसारको मुद्दामा मुछिएका व्यक्ति समेत हुन्।बन्दुकसहित भागेका कर्णबहादुर अझैपनि आपराधिक मानसिकता बोकेर गाउँमा प्रवेश गर्ने त्रास समेत फैलिएको छ।

लेनदेनको विषयमा विवाद हुँदा शनिबार बेलुका ८ बजेतिर घर नजिकैको होटेलमा खाना खाइरहेका बेला यातायात व्यवशायी समेत रहेका सुरेन्द्रमाथि कर्णबहादुरले गोली प्रहार गरेका थिए।

सुरेन्द्रले कर्णबहादुरबाट ४० हजार रूपैयाँ असुल गर्नुपर्ने र सोहि विषयमा विवाद भएको र त्यसपश्चात गोलीकाण्ड भएको खुल्न आएको छ।

गोली प्रहार लगत्तै सुरेन्द्रलाई स्थानीयबासिन्दाले उपचारका लागि जिल्ला अस्पताल पुर्याए। अस्पताल पुर्याउदा चिकित्सकले शनिबार राति नै मृत घोषणाा गरेका थिए।

Leave A Reply

Your email address will not be published.