जय ट्रफी खेल्ने चारवटै टोलीको टुंगो लागेको छ। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लिग चरणका खेल सकिएसंगै जय ट्रफी खेल्ने सबै टोलीको टुंगो लागेको हो।
नेपाल क्रिकेट संघले प्रधानमन्त्री कपको शिर्ष चारमा पुग्ने टोलीलाई बहुदिवसीय क्रिकेटका लागि छनौट गर्दै आएको छ। नेपाल पुलिस क्लब १६ अंकका साथ अंकतालिकाको शिर्ष, त्रिभुवन आर्मी क्लबको पनि १६ अंक भएपनि नेटरनरेटका आधारमा दोस्रो, एपिएफ क्लब १४ अंकका साथ तेस्रो र बागमती प्रदेश आठ अंकका चौथो हुँदै जय ट्रफीका लागि छनौट भयो।
बागमती,कर्णाली,लुम्बिनी र मधेश प्रदेशको समान आठ अंक रहेपनि नेटरनरेटमा अगाडी रहदै बागमती जय ट्रफीका लागि छनौट हुन सफल भयो। गत संस्करणको जय ट्रफीका लागि छनौट भएको मधेश यसपटक भने छनौट हुन असफल भयो। यसपटक एपिएफ जय ट्रफीमा छनौट हुने नयाँ टोली हो।
गत वर्ष पुलिस, आर्मी, बागमती र मधेश जय ट्रफीका लागि छनौट भएका थिए। आर्मीलाई हराएर पुलिसले गत संस्करणको जय ट्रफीको उपाधि हात पारेको थियो।