आज राजसंस्था र गणतन्त्र पक्षधरहरुले काठमाडौंमा बेग्लाबेग्लै प्रदर्शन गर्दै

गणतन्त्र पक्षधर र राजसंस्था पक्षधरले आज काठमाडौमा बेग्लाबेग्लै प्रदर्शन गर्दैछन्। गणतन्त्रपक्षधरको प्रदर्शनको नेतृत्व चार दलीय समाजवादी मोर्चाले गर्दैछ भने राजसंस्था पक्षधरको प्रदर्शनको नेतृत्व राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समितिले गर्दैछ।

राजावादीहरूले तीनकुनेमा प्रदर्शन गर्दैछन् भने गणतन्त्रवादीहरूको प्रदर्शनका लागि भृकुटीमण्डप तोकिएको छ। समाजवादी मोर्चामा आवद्ध भएका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका हुन्।

समाजवादी मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्ने गरी रुट तय गरेको छ। सभाअघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिने मोर्चाले जनाएको छ। मोर्चाले निकाल्ने जुलुस भृकुटीमण्डपमा पुगेर दिउँसो १ बजे सभामा परिणत हुनेछ।

नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगै मिलेर प्रदर्शन गर्न लागेको हो। राजावादीलाई रिङरोडबाहिर मात्रै जुलुस निकाल्न दिइने प्रशासनले जनाएको छ।

आज दुवै पक्षको प्रदर्शनबाट हुनसक्ने भिडन्तलाई मध्यनजर गर्दै सरकारले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ। गणतन्त्र पक्षधर र राजसंस्था पक्षधरलाई भेट्न नदिने विशेष रणनीति अनुरुप प्रदर्शनका लागि बेग्लाबेग्लै स्थान तोकिएको हो। सुरक्षार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरीका थप दुई हजारभन्दा बढी प्रहरी परिचालन गरिने जनाइएको छ।

Leave A Reply

Your email address will not be published.