दलितमाथि ज्यादती गर्ने गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई धरौटीमा छाड्न आदेश

सिरहाको औरही गाउँपालिका-५ मा महायज्ञका नाममा दलितमाथि भएको ज्यादती घटनामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई धरौटीमा रिहा गर्ने आदेश दिइएको छ। सिरहा जिल्ला अदालतले जनही एक लाख रुपैयाँ धरौटी लिएर उनीहरूलाई छाड्ने आदेश दिएको हो।

अदालतका न्यायाधीश विदुर काफ्लेको इजलासले शुक्रबार प्रहरी हिरासतमा रहेका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवसँग जनही एक लाख रुपैयाँ धरौटी लिने र थुनामुक्त गर्ने आदेश दिएको अदालतका शाखा अधिकृत समीर कुलुङले जानकारी दिए।

अब उनीहरू बाहिरै बसेर मुद्दा लड्न पाउनेछन्। उनीहरूसँगै बजरंजी बाबाविरुद्ध पनि जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर भएको थियो। बजरंजी बाबाको हकमा भने अब कानुनबमोजिम म्याद जारी हुने कुलुङले बताए।

गत फागुन १० मा अछुत भन्दै महायज्ञस्थलमा रहेको दीपक मल्लिकको घर गाउँपालिकाको डोजर लगाएर भत्काइएको थियो। पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष चैत ९ मा पक्राउ परेका थिए।

जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।

Leave A Reply

Your email address will not be published.