आईपीएल क्रिकेट: लखनउले मुम्बईलाई १२ रनले हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई १२ रनले हराएको छ। जीतका लागि दुई सय ४ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ९१ रन बनायो। मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक ६७ रन जोड पनि टोलीलाई जिताउन सकेनन्।

लखनउका शार्दुल ठाकुर, आवेस खान, आकाश दिप र दिग्वेश राठीले समान एक विकेट लिए। त्यसअघि लखनउमा घरेलु टोलीले टस हारेर पहिला ब्याटिङ गरेको थियो । उसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर दुई सय ३ रन बनायो। लखनउका मिचेल मार्श र एडेन मारक्रमले अर्धशतक बनाए। मार्शले सर्वाधिक ६० रन जोडे। मारक्रमले ५३ रन बनाए।

मुम्बईका कप्तान हार्दिक पाण्ड्याले ५ विकेट लिए। ट्रेन्ट बोल्ट, अश्विनी कुमार र विग्नेश पुथुरले समान एक विकेट लिए।

जीतसँगै लखनउको ४ खेलमा ४ अङ्क भएको छ। लखनउ तालिकाको छैटौं स्थानमा छ। मुम्बई ४ खेलमा २ अङ्कका साथ सातौं स्थानमा छ।

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछ। आजको पहिलो खेलमा चेन्नई सुपर किङ्ग्स र दिल्ली क्यापिटल्स तथा दोस्रो खेलमा पञ्जाब किङ्ग्स र राजस्थान रोयल्सबीच खेल हुनेछ।

Leave A Reply

Your email address will not be published.