आईपीएल क्रिकेट: दिल्लीले बैंग्लुरुलाई ६ विकेटले हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई पराजित गरेको छ। हिजोको खेलमा दिल्लीले घरेलु टोली बेङ्गलुरुलाई ६ विकेटले पराजित गरेको हो । बेङ्गलुरुले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर ५ बलमा चार विकेट गुमाउँदै १६९ रन बनायो।

दिल्लीका लागि केएल राहुलले अविजित ९३ रन बनाए । ट्रिस्टन स्टब्सले पनि अविजित रहँदै ३८ रन जोडे। बेङ्गलुरुका भुवनेश्वर कुमारले दुई विकेट लिए।

त्यसअघि एम चिन्नास्वामी स्टेडियममा बेङ्गलुरुले टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले सात विकेट गुमाउँदै १६३ रन बनाएको थियो। बेङ्गलुरुका फिल साल्ट र टिम डेभिडले समान ३७ रन बनाए।

दिल्लीका विपराज निगम र कुलदीप यादवले समान दुई विकेट लिए । यो नतिजासँगै दिल्ली लगातार चार खेल जित्दै आठ अङ्कका साथ प्रतियोगितामा दोस्रो स्थानमा छ। समान अङ्क रहेको गुजरात टाइटन्स रनरेटको आधारमा शीर्ष स्थानमा छ। पाँच खेल खेलेको बेङ्गलुरु भने ६ अङ्कका साथ तेस्रो स्थानमा छ।

आईपीएलमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स खेल्दैछन्।

Leave A Reply

Your email address will not be published.