इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई हराएको छ।
महेन्द्रसिंह धोनी कप्तानी जिम्मेवारीमा फर्किएकै दिन हिजो चेन्नई कोलकातासँग आठ विकेटले पराजित भएको हो। नियमित कप्तान ऋतुराज गायकवाड कुहिनाको चोटका कारण आईपीएलबाट बाहिरिएपछि धोनी कप्तानी जिम्मेवारीमा फर्किएका थिए।
चेन्नईले दिएको १०४ रनको लक्ष्य पछ्याएको कोलकाताले १० ओभर एक बलमा दुई विकेट गुमाउँदै १०७ रन बनायो। कोलकाताको जीतमा सुनील नारायणले सर्वाधिक ४४ रन बनाए। क्विन्टन डि ककले २३ रन जोडे।
चेन्नईका नूर अहमद र अन्सुल कामबोजले समान एक विकेट लिए। त्यसअघि एमए चिदम्बरम स्टेडियम, चेपौकमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले नौ विकेट गुमाउँदै १०३ रन बनाएको थियो।
चेन्नईका शिवम दुबेले अविजित ३१ रन बनाए। विजय शंकरले २९ रन जोडे। कोलकाताका सुनील नारायणले तीन विकेट लिए। हर्षित राना र वरुण चक्रवर्तीले समान दुई विकेट लिँदा वैभव अरोरा र मोइन अलीले एकरएक विकेट लिए।
जीतसँगै तेस्रो स्थानमा उक्लिएको कोलकाताले ६ खेलबाट ६ अङ्क पुर्याएको छ। चेन्नईको भने यो लगातार पाँचौं हार हो। चेन्नई दुई अङ्कका साथ नवौं स्थानमा छ। आईपीएलमा आज लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स तथा सनराइजर्स हैदराबाद र पन्जाब किङ्स खेल्दैछन्।