इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले हराएको छ। जीतका लागि एक सय ६० रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर ५ बलमा २ विकेट गुमाउँदै भेट्टायो। उसका अभिषेक पोरेलले ५१, के एल राहुलले अविजित ५७ र कप्तान अक्षर पटेलले ३४ रन बनाए।
लखनउका एडन मारक्रमले दुई विकेट लिए। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५९ रन बनायो।
उसका एडन मारक्रम र मिचेल मार्सले ८७ रनको साझेदारी गरे। मारक्रम ५२ रनमा र मिचेल मार्स ४५ रनमा आउट भए। दिल्लीका मुकेश कुमारले सर्वाधिक ४ विकेट लिए। दिल्ली छैटौं जीतका साथ १२ अङ्कसहित अङ्कतालिकाको दोस्रो स्थानमा छ।
शीर्षस्थानमा रहेको गुजरात टाइटन्सको पनि १२ अङ्क नै छ। लखनउ १० अङ्कसहित पाँचौं स्थानमा छ। आईपीएल क्रिकेटमा आज सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबीच खेल हुनेछ। यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे हुनेछ।