सरकार र आन्दोलनरत शिक्षकबीच आज फेरि वार्ताको तयारी

सरकार र शिक्षकहरुबीच हिजो हुने भनिएको वार्ता रोकिएको छ। वार्ताका लागि शिक्षा मन्त्रालयले नै शिक्षकहरूको टोली बनाएको भन्दै नेपाल शिक्षक महासङ्घ उपस्थित नभएपछि वार्ता हुन नसकेको हो।

मन्त्रालयले छलफलका लागि बोलाएपछि शिक्षक सङ्घ–सङ्गठनका केही प्रतिनिधि हिजो मन्त्रालय पुगिसकेका थिए। सिंहदरबार गेटमा मन्त्रालयले पठाएका २५ शिक्षकको नाम देखेपछि वार्ताको लागि जान लागेका महासङ्घका प्रतिनिधिहरु फर्किएका थिए ।

शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूबाटै प्राप्त नामका आधारमा प्रतिनिधिलाई सिंहदरबार बोलाइएको भन्दै त्यसमा आपत्ति भए वार्ता टोली गठन गर्न महासङ्घलाई आग्रह गरेका छन्। शिक्षक महासङ्घले बनाउने आधिकारिक वार्ता टोलीसँग वार्ता गरी समस्या समाधान गर्न तयार रहेको मन्त्री पन्तको भनाइ छ । सरकार र शिक्षकबीच आज फेरि वार्ताको तयारी छ।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै शिक्षक महासङ्घ २५ दिनदेखि काठमाण्डौ आन्दोलनमा छ। शिक्षकहरु आन्दोलनमा रहँदा सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना, पठनपाठनसँगै एसईईको उत्तरपुस्तिका परीक्षण र अस्ति बिहीवारदेखि शुरू हुनुपर्ने कक्षा १२ को परीक्षामा प्रत्यक्ष असर गरेको छ।

सर्वोच्च अदालतले अस्ति बिहीवार तीन दिनभित्र विद्यालयमा पठनपाठनको वातावरण मिलाउन आदेश दिएको छ।

Leave A Reply

Your email address will not be published.