आज २९ औँ राष्ट्रिय चिया दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

आज २९ औँ राष्ट्रिय चिया दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसको अवसरमा ‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार’ मूल नाराका साथ विभिन्न ठाउँमा कार्यक्रम हुँदैछन्।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आज पुल्चोकको हरिहरभवनमा चिया प्रदर्शनी गर्ने जनाएको छ। नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो। त्यस क्रममा देशका विभिन्न जिल्लाहरूमा उत्पादन हुने चिया एकै ठाउँमा प्रदर्शन गरी चिया किसान, मजदुर, सहकारी, उद्योगी/व्यवसायी, सरोकार भएका संघसंस्थाका प्रतिनिधिबीच छलफल गरिने बोर्डले जनाएको छ।

चालू आर्थिक वर्षको चैत मसान्तसम्म तीन अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको छ। बोर्डले यस वर्ष चियाको निर्यात चार अर्ब ५० करोड रुपैयाँ हाराहारीमा पुग्ने अनुमान रहेको जनाएको छ।

बोर्डका अधिकृत चन्द्र पुरीले नेपालको चिया क्षेत्रले करिब ६० हजार रोजगारी सिर्जना गरेको र १७१ ‘टि स्टेट’ र साना मझौला गरी एक सय २० वटा चिया प्रशोधन केन्द्र रहेको जानकारी दिनुभयो। नेपालमा १५ हजारभन्दा धेरै चिया किसानहरु छन्।

Leave A Reply

Your email address will not be published.