बैतडीमा आइरन चक्की र परिवार नियोजनका साधनको अभाव

बैतडीमा केही महिनायता आइरन चक्की, जुकाको औषधि र परिवार नियोजनका साधनहरुको अभाव भएको छ। स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकका अनुसार गएको ३ महिनादेखि यहाँ आइरन चक्की र परिवार नियोजनका साधनहरुको अभाव भएको हो। उहाँले भन्नुभयो,“ गएको ३ महिनादेखि आइरन चक्की र परिवार नियोजनका साधनहरुको अभाव भएको छ,केही दिनमै खोपको पनि अभाव हुने अवस्था छ।”

आइरन चक्की गर्भवती तथा सुत्केरी महिला र किशोरकिशोरीहरुलाई खुवाइदै आएको थियो। यहाँका विद्यालयमा सञ्चालनमा रहेको किशोरकिशोरीलाई आइरन चक्की खुवाउने कार्यक्रम समेत प्रभावित बनेको छ। उहाँले भन्नुभयो,“विद्यालयहरुमा पनि किशोरकिशोरीहरुलाई आइरन चक्की खुवाइने कार्यक्रम सञ्चालन थियो। आइरन चक्की अभावकै कारण त्यो कार्यक्रम पनि प्रभावित बनेको छ।”

महिनावारी हुने किशोरकिशोरीलाई रक्तअल्पता हुने समस्या भएकोले आइरन चक्की दिने गरिएको थियो। सरकारले समयमै खरिद गर्न नसक्दा परिवार नियोजनका साधनसंगै आइरन चक्कीको अभाव भएको छ। परिवार कल्याण महाशाखाका अनुसार पिल्स, कण्डम, तीन महिने सङ्गीनी सुई (डिपो) कपर–टी, इमप्लान्ट जस्ता अस्थायी परिवार नियोजनका साधनको बैतडी सहित देशका विभिन्न ठाउँमा अभाव रहेको सूचना अधिकारी विपिन लेखकले बताउनुभयो।

स्वास्थ्य सेवा विभागको भण्डारण केन्द्रमा कण्डम, सङ्गीनी सुई (डिपो) कपर–टी, इमप्लान्ट जस्ता अस्थायी परिवार नियोजनका साधनको स्टक नभएकाले नेपाल सरकारले माग अनुसार परिवार नियोजनका साधनको परिपूर्ति गर्न सकेको छैन। नेपाल सरकारले परिवार नियोजन कार्यक्रमका लागि आवश्यक अनुसार बजेट छुट्याउन नसक्दा दातृ निकायको भर पर्दै आएको छ।

पछिल्लो समय युएसएड बन्द हुँदा दाताले दिने भनेर प्रतिबद्धता गरेको सहयोगमा पनि कटौती भएकाले समस्या झन बढ्दो छ। सरकारले दिने बजेट बढाउन नसक्दा र दातृ निकायबाट आउने सहयोगमा कमी आएकाले परिवार नियोजनका साधान अभाव भएको सूचना अधिकारी लेखकले बताउनुभयो।

यस्तै सरकारले गर्भवती तथा सुत्केरी आमालाई निःशुल्क रुपमा वितरण गर्दै आइरहेको आइरन चक्की देशका धेरै स्वास्थ्य संस्थामा नपाउने अवस्था आएको छ। परिवार कल्याण महाशाखाले भने आइरनको अभाव केही संस्थामा देखिए पनि बाहिर हल्ला भएजस्तो भयावह नभएको जनाएको छ।

हाल स्थानीय तहले आफैं किनेर पनि आइन चक्की वितरण गर्दै आइरहेका छन। प्रदेश र केन्द्र सरकारले दिएको आइरन चक्की ३ महिनाअगाडी नै सकिएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताउनुभयो। उहाँले भन्नुभयो,“ प्रदेश र केन्द्र सरकारले दिएको आइरन चक्की सकिएको तीन महिना भएको छ, पालिका आफैंले किनेको २० हजार चक्की पनि सकिन लागेको छ।”

परिवार नियोजनका साधनको अभाव भने ६ महिनादेखि रहेको उहाँले बताउनुभयो। गर्भवती तथा सुत्केरी महिलाले नियमित खानुपर्ने आइरन चक्कीको अभाव हुँदा समस्या भएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो,“नियमित खानुपर्ने आइरन चक्की नखाए शरिरमा रगतको कमी हुने सम्भावना हुनसक्छ। परिवार नियोजनका साधनको अभावले अवान्चित गर्भ रहने र एचआइभी संक्रमणको जोखिम हुन्छ।”

यहाँको पुर्चौडी नगरपालिकामा आइरन चक्की, परिवार नियोजनका साधनहरुको अभावसंगै जुकाको औषधिको पनि अभाव रहेको छ। नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुँवरका अनुसार सरकारले दिएको आइरन चक्की,परिवार नियोजनका साधनहरु सकिएको महिनौं भइसकेको छ।

उहाँले भन्नुभयो,“सरकारले दिएको आइरन चक्की सकिएको महिनौं भइसक्यो,पालिका आफैंले किनेको पनि सकिन लागेको छ। परिवार नियोजनका साधनहरुको पनि निकै अभाव छ। जुवाको औषधि पनि सकिएको छ।”

आइरन चक्की पालिकाले खरिद गर्न मिल्ने भएपनि परिवार नियोजनका साधनहरु भने किन्न नमिल्ने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो,“आइरन चक्की लगायत औषधिहरु पालिकाले खरिद गर्न मिल्ने भएपनि परिवार नियोजनका साधनहरु किन्न नमिल्ने भएकाले समस्या भएको छ।” पालिकाले परिवार नियोजनका साधनहरु किन्न नपाउने र किनेको पाइएमा बेरुजु देखाउने प्रमुख कुँवरले बताउनुभयो ।

आइरन चक्की र परिवार नियोजनका साधनहरुको अभाव रहेकोबारे माथिल्लो निकायलाई जानकारी गराइसकिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.