आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली स्कटल्यान्डसँगको खेलमा नेपाल दुई रनले पराजित भएको छ। स्कटल्यान्डले दिएको तीन सय २४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरमा तीन सय २१ रनमा अलआउट भयो।

नेपालका लागि भीम सार्कीले ७३, सोमपाल कामीले ६७ र दीपेन्द्रसिंह ऐरीले ५६ रन बनाए। स्कटल्यान्डका म्याकेन्जी जोन्सले तीन विकेट लिए। यस्तै सफियान शरीफ र माइकल लीस्कले समान दुई तथा ब्रान्डन म्याकमुलेन र चार्ली क्यासलले समान एक विकेट लिए।

त्यसअघि स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ५० ओभरमा छ विकेट गुमाएर तीन सय २३ रन बनाएको थियो। स्कटल्यान्डका लागि कप्तान रिची बेरिङ्टनले एक सय दुई रन बनाए । यस्तै माइकल लीस्कले ९६ र चार्ली टियरले ६८ रन जोडे । नेपालका करन केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई तथा ललित राजवंशीले एक विकेट लिए।

यो जीतसँगै स्कटल्यान्ड १९ खेलमा २४ अङ्कसहित तालिकाको तेश्रो स्थानमा उक्लिएको छ। १५ खेलमा १० अङ्कसहित नेपाल सातौं स्थानमा यथावत् छ। लिग–२ को तालिकामा अमेरिका शीर्ष स्थानमा छ। लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा घरेलु टोली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्स सहभागी छन्।

नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले हराएको थियो। यस्तै दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले हराएको थियो। लिग–२ को चौथो तथा अन्तिम खेलमा नेपालले भोलि फेरि नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ। लिग–२ को शीर्ष चारमा रहने टोली विश्वकपको ग्लोबल छनोटमा सीधै पुग्नेछन्। यस्तै पुछारमा रहने चार टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने हुन्छ।

Leave A Reply

Your email address will not be published.