एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाल लगातार चौथो खेलमा विजयी भएको छ। मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा आज भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले भूटानलाई २ सय ९८ रनले हरायो।
नेपालले दिएको ३ सय ५९ रनको लक्ष्य पछ्याएको भूटानले ३२ ओभर ४ बलमा ९ विकेट गुमाएर ६० रन बनायो। भूटानका अन्तिम ब्याटर क्रिजमा आएनन्। भूटानका शेजाङ दावाले सबैभन्दा धेरै १४ रन बनाए। नेपालका कप्तान विपिनप्रसाद शर्माले ४ तथा सुयोग भट्टराई र सचिन भट्टले २र२ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५८ रन बनायो। नेपालका रौनक श्रीवास्तवले शतक बनाए। श्रीवास्तव १ सय ३२ बलमा १ सय ६८ रन बनाएर आउट भए। यस्तै जोय थापाले नटआउट ६१, शिवांश बजगाइँले ५४ रन बनाए । भूटानका साङ्गे दोर्जीले ३ विकेट लिए।
नेपाल समूह चरणका सबै खेल जितेर सेमिफाइनलमा पुगेको छ। नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेट, दोस्रो खेलमा जापानलाई ९ विकेट र तेस्रो खेलमा इन्डोनेसियालाई ३ सय ७० रनले हराएको थियो। यो समूहबाट सिङ्गापुर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ। यस्तै समूह ‘बी’ बाट हङकङ शीर्ष स्थान र मलेशिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेका छन्।
अब सेमिफाइनलमा नेपालले मलेशियासँग र हङकङले सिङ्गापुरसँग खेल्नेछ। १६ वर्षमुनिको इस्ट जोन कपको सेमिफाइनल खेल पर्सि बिहीवार हुनेछ। यस्तै फाइनल खेल आउँदो शनिवार हुनेछ।