नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ। पार्टी सचिव सोमप्रसाद पाण्डेका अनुसार तीन दिनभित्र जवाफ पठाउने गरी स्पष्टीकरण सोधिएको हो। ‘उहाँले जे बोल्नुभयो, त्यसमा स्पष्टीकरण सोधिएको छ’, उनले भने।
गत शनिबार झाँक्रीले नेतृत्व पुनर्गठनको माग राख्दै सार्वजनिक अभिव्यक्ति दिएकी थिइन्। पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपाल जोडिएकाले पार्टी पुनर्गठनको प्रस्ताव अगाडि बढाउनुपर्ने झाँक्रीको माग थियो।
त्यस क्रममा उनले ‘सिनो बोकेर’ अगाडि बढ्न नसकिने समेत बताएकी थिइन्। उनको यस्तो अभिव्यक्तिप्रति पार्टीको अनुशासन आयोगले तीन दिने स्पष्टीकरण सोधेको हो।