बैतडी: गृहमन्त्री रमेश लेखकले देशको आवश्यकता अनुसार नेपाली कांग्रेस र एमालेको गठबन्धन सरकार बनेको बताएका छन्। बुधबार जन्मभूमी बैतडी पुगेका मन्त्री लेखकले पाटनमा कांग्रेसको नगरकार्य समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देशको आवश्यकता अनुसार कांग्रेस र एमाले एक ठाउँमा मिलेका बताए।
पार्टीले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री लेखकले सातबुँदे सहमतिका आधारमा सरकार अघि बढीरहेको बताए। दुवै दलले इमान्दारिताका साथै सहमति कार्यान्वयन गर्नुपर्नेमा मन्त्री लेखकले जोड दिए।
गठनबन्धन सरकारप्रति जनताको थुप्रै आशा भएकाले नागरिकका आशा पूरा गर्नेतर्फ सरकार केन्द्रित रहेको उनले बताए। यस्तै सुदूरपश्चिमको गेटामा पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना हुनु निकै सुखद पक्ष रहेको बताउँदै मन्त्री लेखकले यसको सफल कार्यान्वयनमा ध्यान दिइने बताए। यस्तै महाकाली करीडोरमा थप बजेट आवश्यक रहेकाले यसका लागि पहल गरिने उनले बताए।
मन्त्री लेखकले भिजिट भीसा प्रकरणमा राजनीतिक षडयन्त्र रहेको दाबी गर्दै गलत हल्लाको पछि नलाग्न आग्रह गरे। अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बैतडीको समग्र विकासका लागि ध्यानाकर्षण गराए।
यसैबीच पाटन क्षेत्रको समग्र विकासका लागि पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले गृहमन्त्री लेखकलाई ज्ञापन पत्र बुझाएका छन।
गृहमन्त्री भएपछि लेखक पहिलो पटक जन्मभूमी बैतडी आएका हुन्। बैतडीमा रहँदा उनले प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको छ। यसका साथै उनी पार्टीले आयोजना गर्ने कार्यक्रममा समेत सरीक हुने बताइएको छ।