भिडियो समाचार बनाएकै आधारमा नेपाल प्रहरीबाट साइबर अपराधको मुद्दा लगाइएका पत्रकार दिलभूषण पाठकसँग जिल्ला अदालत काठमाडौंले २५ हजार धरौटी मागेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई फरार प्रतिवादी बनाएर चलाएको साइबर अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश खेमराज भट्टको इजलासले २५ हजार धरौटी माग गरेको हो ।
उनको मुद्दाको थुनछेक ३१ नम्बर इजलासका न्यायाधीश खेमराज भट्टले गरेका थिए। उनलाई बयानपछि थुनछेक आदेशका क्रममा २५ हजार धरौटी मागिएको हो।
कांग्रेस सभापति शेरबहादुर देउवाको परिवारको सम्पत्ति र छोरा जयवीरसिंह देउवाको हिल्टन होटलमा लगानी रहेको भनेर समाचार सम्प्रेषण गरेको आधारमा उनीविरुद्ध साइबर अपराधको मुद्दा चलाइएको थियो। समाचारकै आधारमा फरक उद्देश्यको कानुन दुरुपयोग गरी मुद्दा चलाइएकोमा सञ्चारकर्मीले आपत्ति जनाउँदै आएका थिए । तर पनि सरकारले यो मुद्दा अदालतमा लगेको थियो।