भोजपुरको रामप्रसादराई गाउँपालिका–२, धोद्लेखानीको बोन्थिताङमा एकै परिवारका चार जनाको हत्या भएको छ। भोजपुर नगरपालिका–२, हेलौछाका ज्वाइँ नाता पर्ने राजेन्द्र राईले सासु, ससुरा, श्रीमती र सालोको हत्या गरेको र उनी आफैले गएराति फोन गरेर प्रहरीमा खबर गरेका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
घटनापछि ओख्रेमा रहेको अस्थायी प्रहरी चौकीबाट टोली खटिएको र ६८ वर्षीय वेलबहादुर गिरी (ससुरा), ४८ वर्षीया मञ्जु गिरी (सासु), राजेन्द्रकी श्रीमती र उनका भाइको शव फेला परेको प्रहरीको भनाइ छ।
भागी विवाह गरेका ज्वाईँ पछिल्लो चार दिनदेखि ससुरालीमै बस्दै आएका थिए। घटनामा संलग्न राजेन्द्र पनि घाइते भएका छन्। उनलाई उपचारका लागि भोजपुर सदरमुकाम ल्याइएको प्रहरीले जनाएको छ ।