अबका ३ दिन मनसुन सक्रिय रहने : सावधानी अपनाउन आग्रह

जल तथा मौसम पूर्वानुमान महाशाखाले अबका तीन दिनसम्म नै मनसुन सक्रिय रहने जनाएको छ। अस्तिदेखि नै देशका विभिन्न ठाउँमा पानी पर्नेक्रम बढेकोमा हिजो र आज धेरै ठाउँमा वर्षा भएको छ। लगातारजसो पानी परेका क्षेत्रमा बाढी, पहिरो र डुवानको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

भक्तपुरको हनुमन्ते खोला, डोल्पाको ठूली भेरी नदी तथा रुकुमपश्चिमको ठूलो भेरी, म्याग्दीको म्याग्दी खोला, जाजरकोटको नलगाढ, सोलुखुम्बुको सोलु खोलामा जलसतहले सतर्कता तह पार गरेको छ। यी नदी तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र तथा होचा भागमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

त्यस्तै गएराति झापासहित उदयपुरको गाइघाट, मुरखुचीबजार, चुरेमाई वर्षामापन केन्द्रहरुलगायत सिराहको लहान, सिराहा हाईड्रो वर्षामापन केन्द्रहरु र आसपासका क्षेत्रमा ठूलो वर्षा मापन भएको छ। महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार अहिले पनि कोशी र मधेश प्रदेशका केही ठाउँमा सामान्य वर्षा भइरहेको छ।

बाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा पनि हल्का वर्षा भइरहेको छ। अबका तीन दिनसम्म नै मनसुन सक्रिय रहने मौसमविद् कडेलले जानकारी दिनुभयो। आज दिउँसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ।

Leave A Reply

Your email address will not be published.