बैतडीको पञ्चेश्वरमा जंगली बँदेलले मकैबाली नष्ट गर्न थालेपछि किसान चिन्तित

बैतडीको पञ्चेश्वर लगायत अधिकांश ठाउँका किसानहरु मकैबाली जोगाउन रातभरी जाग्राम बस्न थालेका छन। जंगली बँदेलले मकैबाली नष्ट गर्न थालेपछि टहरा बनाएर मकैबाली जोगाउने प्रयास गरिदै आएको छ।

मकै जोगाउन खेतमै टहरा बनाएर पहरा दिन थालिएको पञ्चेश्वर गाउँपालिका–०४ का किसान राम दत्त भट्टले बताउनुभयो। रातिको समयमा बारीमा लगाएको मकै जंगली बदेंलले नष्ट गर्न थालेपछि बारी छेउमै टहरा बनाएर उनले पहरा दिइरहेका छन।

पहरा दिएपनि जंगली बदेंलले मकैबाली नष्ट गर्न नछोडेको शिक्षक एवं स्थानीय बिरेन्द्र भट्टले जानकारी दिनुभयो। किसानहरुले टहरामा सुतेको मौका छोपेर जंगली बदेलले मकैबाली नष्ट गर्ने गरेको शिक्षक भट्टले रेडियो मेलौलीलाई बताउनुभयो।

पञ्चेश्वर गाउँपालिका–०३ का धेरै स्थानमा पनि जंगली बँदेलले मकैबाली नष्ट गरेको स्थानीय आरुसी चन्दले बताउनुभयो। गाउँपालिकाको तिचौरा, कलौटी, कनिना, मल्लागाउँ लगायतका क्षेत्रमा जंगली बदेलले मकैबाली नष्ट गरेको पञ्चेश्वर गाउँपालिकाका–०४ का वडासदस्य मनि दत्त भट्टले बताउनुभयो।

जिल्लाका अधिकांश लेकाली क्षेत्रमा लगाएको मकैबाली जंगली बँदेलले नष्ट गर्न थालेपछि किसानहरु हैरान भएका छन्। मकैमा घोगा लाग्ने बेलादेखि बँदेलले सताउन थालेपछि किसानहरुलाई समस्या भएको हो।

बैतडीमा मकै मुख्य खाद्यबालीको रुपमा रहेको भएपनि पछिल्ला केही बर्ष यता लगातार रुपमा जंगली बदेलले नष्ट गर्न थालेपछि किसानहरु चिन्तित भएका हुन।

Leave A Reply

Your email address will not be published.