बझाङमा सम्पन्न राष्ट्रिय भलिबल रेफ्री कोर्सको नतिजा सार्वजनिक

बैतडी : सुदूरपश्चिम प्रदेशको खेलकुद विकासमा ऐतिहासिक मानिएको राष्ट्रिय भलिबल रेफ्री क्यान्डिडेट कोर्सको नतिजा सार्वजनिक भएको छ। नेपाल भलिबल संघको स्वीकृतिमा सुदूरपश्चिम भलिबल संघको आयोजनामा बझाङमा पहिलोपटक सञ्चालन गरिएको उक्त कोर्सको नतिजा हालै सार्वजनिक गरिएको हो।

बझाङ जिल्ला खेलकुद विकास समितिको आर्थिक सहयोगमा वैशाख ५ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको सातदिने कोर्समा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट भलिबल खेलाडी तथा प्रशिक्षार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

कोर्स इन्स्ट्रक्टरको रूपमा आएका अन्तर्राष्ट्रिय भलिबल रेफ्री टहलसिंह थापाले सहभागीहरूको मूल्याङ्कन गरी प्राप्त अङ्कको आधारमा A, B र C ग्रेड प्रदान गरिएको जानकारी दिए। उनले भने, सुदूरपश्चिमका सहभागीहरूमा मैले भलिबलप्रतिको गहिरो लगाव र सिक्ने उत्सुकता पाएँ। यहाँबाट उत्पादित रेफ्रीहरूले भविष्यमा राष्ट्रिय स्तरका प्रतियोगितामा उत्कृष्टता देखाउनेछन् भन्नेमा म विश्वस्त छु।

नेपाल भलिबल संघका उपाध्यक्ष हरकसिंह धामीले सुदूरपश्चिममा पहिलोपटक आयोजना गरिएको यस प्रकारको कोर्सले प्रदेशस्तरीय र स्थानीय प्रतियोगिताहरूलाई व्यवस्थित र स्तरीय बनाउन टेवा पुग्ने अपेक्षा गरिएको बताए। केन्द्रले मात्र होइन, अब प्रदेश र जिल्ला स्तरबाटै दक्ष जनशक्ति उत्पादन गर्न संघले जोड दिएको छ, उनले बताए।

अछाम जिल्ला भलिबल संघका अध्यक्ष अनिल बिष्टले पनि सहभागी सबै प्रशिक्षार्थीलाई बधाई दिँदै कोर्स सफल रूपमा सम्पन्न हुनु प्रदेशकै लागि सकारात्मक संकेत भएको बताए। उनले भने,“जिल्लास्तरबाटै दक्ष जनशक्ति उत्पादन गर्न थालिएको यो अभ्यास सुदूरपश्चिमको भलिबल क्षेत्रको भविष्य निर्माणतर्फको एक महत्वपूर्ण पाइला हो।”

उक्त कोर्सले स्थानीय तहमा खेलको विकास, व्यवस्थापन र व्यावसायिकता प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।

 

Leave A Reply

Your email address will not be published.