बैतडीको डिलाशैनीमा राष्ट्रिय परिचय पत्र दर्ता शिविर सञ्चालन

बैतडीको डिलाशैनी गाउँपालिकामा राष्ट्रिय परिचय पत्र दर्ता शिविर सञ्चालन गरिएको छ। गाउँपालिको आग्रह र जिल्ला प्रशासन कार्यालयको समन्वयमा दर्ता शिविर शुरु गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए।

शनिबार वडा नं ६ को कार्यालय डडियामा शिविरको उद्दघाटन गरिएको प्रवक्ता भट्टले बताए। सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुका लागि सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि नागरिकहरुको मार्कालाई ध्यानमा राखेर शिविर सञ्चालन गरिएको प्रवक्ता भट्टले बताए।

श्रावण मसान्तसम्म वडा नं ६ मा शिविर सञ्चालन हुने र डिलाशैनी गाउँपालिकाका पायक पर्ने स्थानका नागरिकलाई शिविर आएर परिचयपत्र बनाउन आग्रह गरिएको प्रवक्ता भट्टले बताए। आवश्यकता अनुसार श्रावण मसान्तपछि अन्य वडाहरुमा पनि शिविर सञ्चालन गरिने प्रवक्ता भट्टले बताए।

राष्ट्रिय परिचय पत्र बनाउनका लागि जेष्ठ नागरिकहरुलाई समस्या भएपछि स्थानीय सरकारहरुसँगको सहकार्यमा स्थानीयस्तरमै दर्ता शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए। यसअघि सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका र पाटन नगरपालिकामा शिविर सम्पन्न भइसकेका छन्।

यस्तै मेलौली नगरपालिकामा शिविर सञ्चालनमा रहेको छ भने डिलाशैनीमा आजदेखि शिविर शुरु भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। अन्य स्थानीय तहहरुमा पनि आवश्यकता अनुसार दर्ता शिविर सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

पुर्चौंडी नगरपालिकामा इलाका प्रशासन कार्यालय हाटबाट राष्ट्रिय परिचय पत्र वितरणको काम भइरहेको छ भने दशरथचन्द नगरपालिकाको हकमा जिल्ला प्रशासन कार्यालयबाट परिचयपत्र वितरणको काम भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

Leave A Reply

Your email address will not be published.