कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको ज्यान गयो

कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप दुई जना नेपालीको ज्यान गएको छ। कुवेतमा रहेको नेपाली दूतावासका अनुसार विषाक्त रक्सी खाएर बिरामी भई विभिन्न अस्पतालमा भर्ना भएका ४० जना नेपाली श्रमिकमध्ये अहिलेसम्म ११ जनाको ज्यान गएको पुष्टि भएको छ।

अस्पतालमा भर्ना भएकामध्ये १५ जनाको आईसीयूमा उपचार भइरहेको छ भने बाँकीको अवस्था सामान्य रहेको दूतावासका श्रमसहचारी गिरिप्रसाद आचार्यले जानकारी दिनुभयो । कुवेतको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म नेपालीसहित २३ जना विदेशी श्रमिकको ज्यान गएको जनाएको छ।

मिथानोलयुक्त रक्सी खाएका कारण एक सय ६० जना श्रमिक बिरामी परेका छन् । प्रारम्भिक अनुसन्धानकाक्रममा रक्सीमा मेथानोल नामको रसायन पाइएको छ। दूतावासले ज्यान गुमाएका नेपाली श्रमिकको शव नेपाल पठाउने विषयमा नेपाल सरकार परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभाग र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डको समन्वय थालिसकेको जनाएको छ।

शव पठाउन केही दिन लाग्नेछ। कुवेतमा रोजगारीका लागि पुगेका झन्डै एक लाख ६० हजार नेपाली छन्। कुवेतमा रहेको नेपाली दूतावासले त्यहाँ कार्यरत नेपालीलाई स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थ नखान आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.