अस्पताल निर्माण र ईलाका प्रशासन कार्यालय स्थापनामा ढिलासुस्तीप्रति ध्यानाकर्षण

बैतडीको मेलाैली नगरपालिका मा प्रस्तावित १५ शैय्याको अस्पताल निर्माण कार्यलाई लिएर नगरपालिकाको ध्यानाकर्षण गराइएको छ। अस्पताल निर्माणका विषयमा अहिलेसम्म देखिएका समस्या, अन्योल र समाधानका उपायबारे गम्भीरतापूर्वक पहल गर्न सरोकारवालाहरूले माग गरेका छन्।

ध्यानाकर्षण पत्रमार्फत यदि साँच्चिकै अस्पताल निर्माण गर्ने मनसाय रहेको हो भने तत्काल निर्माण प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ। अन्यथा, अस्पताल निर्माणको विषयलाई लिएर जनतामाझ भ्रम सिर्जना गर्ने, अलमल्याउने तथा झुक्याउने कार्य नगर्न समेत चेतावनी दिइएको छ।

यसैगरी, मेलाैलीमा स्थापना हुने भनिएको इलाका प्रशासन कार्यालयका विषयमा पनि नगरपालिकाले स्पष्ट धारणा बनाउनुपर्नेमा जोड दिइएको छ। कार्यालय स्थापनाका लागि आवश्यक कोठा व्यवस्थापन, सिफारिस तथा कार्यपालिका बैठकमा एजेन्डा प्रस्तुत गर्ने विषयमा देखिएको अन्योल र फरक-फरक प्रस्तुतीकरणप्रति असन्तुष्टि जनाइएको छ।

ध्यानाकर्षण पत्रमा अस्पताल निर्माणका लागि स्पष्ट मार्गचित्र (मोडेल प्लान) तयार गरी सरोकारवालाहरूको बैठक बोलाई ठोस निर्णय लिन माग गरिएको छ। साथै, इलाका प्रशासन कार्यालय स्थापनाका लागि आवश्यक पूर्वाधार र व्यवस्थापन गर्न पनि नगरपालिकासँग माग गरिएको छ।

अस्पताल तथा प्रशासन कार्यालय जस्ता जनचासोका विषयमा काम अगाडि बढाउने क्रममा अनावश्यक विवाद सिर्जना गर्ने, भ्रम फैलाउने वा जनसमुदायलाई दोष दिने खालका गतिविधि नगर्न समेत आग्रह गरिएको छ।

उक्त ध्यानाकर्षण पत्र प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुख, उपप्रमुख तथा कार्यपालिका सदस्यहरूलाई बुझाइएको छ। पत्र बुझ्दै मेलाैली नगरपालिका ले यस विषयमा गम्भीरतापूर्वक छलफल गरी आवश्यक निर्णय लिने जनाएको छ।

ध्यानाकर्षण पत्र

Leave A Reply

Your email address will not be published.