बैतडीको मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर धामीलाई आज एक कार्यक्रमका बीच विदाइ गरिएको छ। छोटो कार्यकालमै प्रभावकारी काम गर्दै राम्रो छाप छोड्न सफल भएका धामीलाई नगरपरिवारले खादा, माला, अबिर तथा मायाको चिनो प्रदान गर्दै सम्मानपूर्वक बिदाइ गरेको हो।
विदाइ कार्यक्रममा नगर प्रमुख भिम बहादुर चन्द, नगर उपप्रमुख पार्वती बोहरा बिष्ट, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नगर प्रमुख चन्दका अनुसार धामीले आफ्नो जिम्मेवारी सम्हालेको छोटो अवधिमा नगरपालिकाको प्रशासनिक तथा विकासीय क्षेत्रमा उल्लेखनीय सुधार ल्याएका थिए।
२०८२ साल मंसिर ४ गते मेलौली आएका धामीले जम्मा ४ महिना २८ दिनको कार्यकालमा ऐन, कार्यविधि तथा नियमावली निर्माण, कार्यालय व्यवस्थापनमा सुधार, सामुदायिक विद्यालय र वडा कार्यालयहरूमा ई–हाजिरी प्रणाली लागू, सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन जस्ता महत्वपूर्ण कामहरू सम्पन्न गरेका थिए।
त्यसैगरी, उनले प्रत्येक वडामा पुगेर योजना सम्झौता तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुका साथै योजना अनुगमन, निरीक्षण तथा सुपरीवेक्षणलाई समेत प्रभावकारी बनाएका थिए। कार्यालय परिसरमा सिसिटिभी जडान, कर्मचारी क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन, समयमै योजना सम्पन्न गरी भुक्तानी व्यवस्था मिलाउने कार्य तथा हिउँदे अधिवेशन समयमै सम्पन्न गराउन समेत उनले महत्वपूर्ण भूमिका खेलेका थिए।
धामीको कार्यशैली, समन्वयकारी व्यवहार र सक्रियताका कारण उनी मेलौलीमा सबैको प्रिय बनेका थिए। विदाइका क्रममा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा कर्मचारीहरूले उनको आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै भविष्यमा पुनः सहकार्य गर्ने अवसर मिल्ने अपेक्षा राखेका थिए।
बिदाइ पश्चात् प्रमुख प्रशासकीय अधिकृत धामी कैलालीको कैलारी गाउँपालिकामा सरुवा भएर गएका छन्। मेलौलीमा उनले छोडेको सकारात्मक छाप र विकासप्रतिको योगदानलाई यहाँका जनप्रतिनिधि तथा कर्मचारीहरूले लामो समयसम्म स्मरण गर्ने विश्वास गरिएको छ।