बैतडीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चौडीलाई

बैतडीमा सञ्चालित १६ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पुर्चौडी नगरपालिकाले जितेको छ। १२ स्वर्ण, ९ रजत र ७ कास्य गरी कुल २८ पदकसहित पुर्चौडीले पहिलो स्थान हासिल गर्दै उपाधि हात पारेको हो।

प्रतियोगितामा सिगास गाउँपालिका ९ स्वर्ण, ५ रजत र ७ कास्य गरी २१ पदकसहित उपविजेता बनेको जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो। यस्तै, ५ स्वर्ण, ९ रजत र ८ कास्यसहित २२ पदक जित्दै तेस्रो स्थानमा अन्य टिम खुम्चिएका छन्।

चौथो स्थानमा मेलौली नगरपालिका (५ स्वर्ण, ६ रजत, ८ कास्य – १९ पदक), पाँचौं स्थानमा दशरथचन्द नगरपालिका (५ स्वर्ण, २ रजत, ६ कास्य – १३ पदक), छैटौं स्थानमा डिलाशैनी गाउँपालिका (१ स्वर्ण, ३ रजत, १ कास्य – ५ पदक) रहेका छन्। त्यसैगरी, सातौं स्थानमा सुर्नया गाउँपालिका (१ स्वर्ण, २ रजत, २ कास्य – ५ पदक), आठौं स्थानमा पाटन नगरपालिका (१ स्वर्ण, १ रजत – २ पदक), नवौं स्थानमा शिवनाथ गाउँपालिका (२ रजत, २ कास्य – ४ पदक) र अन्तिम स्थानमा पञ्चेश्वर गाउँपालिका (१ कास्य) रहेको छ।

बैशाख ७ गतेदेखि सुरु भएको प्रतियोगिता दशरथचन्द नगरपालिका–०२ देहिमाण्डौंस्थित निङ्लाशैनी खेलमैदानमा सञ्चालन गरिएको थियो। प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री शिवराज भट्टले गर्नुभएको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टिमलाई मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको छ।

उत्कृष्ट खेलाडीलाई प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गरिने जिल्ला खेलकुद समिति अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयो। जिल्लाका सबै स्थानीय तहको सहभागिता रहेको प्रतियोगिताले स्थानीय तहबीच आपसी सहकार्य, खेलकुदप्रतिको रुचि अभिवृद्धि, अनुशासन, नेतृत्व तथा टिम भावना विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ।

Leave A Reply

Your email address will not be published.